सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन चौतर्फी दबाब

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन सरकारमाथि चौतर्फी राजनीतिक दबाब बढेको छ। वैकल्पिक आवासको कुनै पनि ठोस व्यवस्था नगरी होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुमबासी परिवारलाई पन्छाउने सरकारी कदमप्रति प्रमुख राजनीतिक दलहरूले कडा आपत्ति जनाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले) तथा उज्यालो नेपाल पार्टीलगायतका राजनीतिक शक्तिहरूले सरकारको उक्त निर्णय अमानवीय र गैरजिम्मेवार भएको ठहर गर्दै तत्काल फिर्ता लिन जोडदार माग गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुकुमबासी परिवारलाई सडकमा पुर्‍याउने गरी गरिएको निर्णयप्रति गम्भीर असहमति प्रकट गर्नुभएको छ। उहाँले राज्यले नागरिकको मौलिक हकको संरक्षण गर्नुपर्नेमा उल्टै सहाराविहीन बनेका घरबारविहीन परिवारलाई बिना विकल्प हटाउन खोज्नु अनुचित भएको बताउनुभएको छ। महामन्त्री राणाले न्यूनतम मानवीय संवेदनालाई ध्यानमा राखेर तत्कालका लागि सो निर्णय स्थगन गर्न र पहिले वैकल्पिक बसोबासको ग्यारेन्टी गर्न सरकारसँग जोडदार आग्रह गर्नुभएको छ।

यस्तै, नेकपा (एमाले) ले पनि विस्थापित सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयलाई आपत्तिजनक र असंवैधानिक कदमका रूपमा टिप्पणी गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमा लेख्दै राज्यको अभिभावकीय भूमिकामाथि प्रश्न उठाउनुभएको छ। नागरिकको सुरक्षित आवासको अधिकारलाई कुण्ठित गर्दै होल्डिङ सेन्टरबाट हटाउनु सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गर्दै उहाँले पूर्वाधार र उचित व्यवस्थापनबिना लिइने यस्ता निर्णयले समाजमा थप सङ्कट निम्त्याउने चेतावनी दिनुभएको छ।

यसैगरी, उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदमको भत्सर्ना गर्नुभएको छ। भूमिहीन तथा सुकुमबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा राज्यले अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका होल्डिङ सेन्टरबाट समेत नागरिकलाई बेदखल गर्न खोज्नु अन्यायपूर्ण भएको पार्टीको ठम्याइ छ। विज्ञप्तिमा नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अविलम्ब निर्णय फिर्ता नलिए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ।

काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा रहेका सुकुमबासी तथा भूमिहीन नागरिकहरूलाई सुरक्षित व्यवस्थापनका लागि केही समयअघि होल्डिङ सेन्टरहरूमा राखिएको थियो। तर, पछिल्लो समय कुनै पूर्वतयारी र स्थानान्तरणको स्पष्ट खाका नल्याई ती केन्द्रहरू खाली गराउने सरकारी निर्णय सार्वजनिक भएपछि विवाद सिर्जित भएको हो। सरोकारवालाहरूले भने राज्यले भूमिहीन नागरिकहरूलाई दीर्घकालीन रूपमा पुनःस्थापना गर्ने एकीकृत योजना नबनाएसम्म यस्ता अस्थायी संरचनाहरूबाट हटाउन नहुने तर्क गर्दै आएका छन्।

राजनीतिक दलहरू र नागरिक समाजका प्रतिनिधिहरूले नागरिकको गाँस, बास र कपास जस्ता संवैधानिक अधिकारलाई सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। होल्डिङ सेन्टरबाट सुकुमबासीहरूलाई निष्कासन गर्ने निर्णयले ठूलो संख्याका बालबालिका, वृद्धवृद्धा र महिलाहरू प्रत्यक्ष प्रभावित हुने भएकाले सरकारले आफ्ना कदम सच्याउँदै वार्ता र सम्वादका माध्यमबाट समस्याको दीर्घकालीन समाधान पहिल्याउनुपर्ने आवश्यकता देखिएको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *