तीन नेताको घर खानतलासी हुँदा पक्राउ पुर्जी हामीलाई मात्रै ? देउवा दम्पतीको प्रश्न

१५ जेठ, काठमाडौं | पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवामाथि मात्रै पक्राउ अनुमति जारी गरिएको भन्दै राज्यले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्चमा दायर गरिएको निवेदनमा उनीहरूले उस्तै प्रकृतिका घटनामा अन्य शीर्ष नेतामाथि समान व्यवहार नभएको जिकिर गरेका छन् ।

देउवा दम्पतीका अनुसार, सुशीला कार्की नेतृत्वको सरकार गठनपछि २०८२ असोज ६ गते भक्तपुरस्थित केपी शर्मा ओली र ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा पनि खानतलासी गरिएको थियो । तर अनुसन्धानका क्रममा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी नभई आफूहरूमाथि मात्रै कारबाहीको प्रयास गरिएको भन्दै देउवा पक्षले प्रश्न उठाएको हो ।सर्वोच्च अदालतमा पेश गरिएको निवेदनमा भनिएको छ, “उस्तै प्रकृतिको अनुसन्धानमा असमान व्यवहार गरिएको छ, जुन संविधानको धारा १८ विपरीत छ ।”

‘हाम्रो घरमा के नै भेटियो र ?’

देउवा दम्पतीले बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको खानतलासीबाट कुनै बहुमूल्य वस्तु वा नगद फेला नपरेको दाबी गरेका छन् ।जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट घर ध्वस्त भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले घरमा खानतलासी गरेको थियो । देउवा पक्षका अनुसार त्यहाँ जलेका फलाम, आल्मुनियमका टुक्रा, पाँचवटा गाडी र दुईवटा मोटरसाइकलका अवशेष बाहेक अन्य सामग्री भेटिएको थिएन ।उनीहरूले घरभित्र विदेशी मुद्रा वा अवैध सम्पत्ति रहेको भन्ने दाबीलाई “भ्रामक प्रचार” भनेका छन् ।

‘राजनीतिक प्रतिशोधको प्रयास’

देउवा परिवारले आफूहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा धरपकडको प्रयास भइरहेको आरोप समेत लगाएको छ ।रिट निवेदनमा उल्लेख गरिएअनुसार, आन्दोलनपछिको तनाव र स्वास्थ्य समस्याका कारण उनीहरू उपचारका लागि सिंगापुर र पछि हङकङ पुगेका थिए । नेपाल फर्किने तयारी गरिरहेका बेला “एयरपोर्टबाटै गिरफ्तार गरिने” सूचना आएको दाबी उनीहरूले गरेका छन् ।उनीहरूले आफूहरू भाग्ने सम्भावना नभएको, प्रमाण नष्ट गर्ने अवस्था नरहेको तथा अनुसन्धानमा सहयोग गर्न तयार रहेको भन्दै पक्राउ आवश्यक नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेश

देउवा दम्पतीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीको आधारमा धरपकड नगर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका निकायलाई आदेश दिएको हो । उक्त आदेशमा सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ अध्यादेशअनुसार अब यस्ता मुद्दा विशेष अदालतमा दर्ता हुने कानुनी व्यवस्था समेत उल्लेख गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बूढानीलकण्ठस्थित देउवा परिवारको घर र जग्गासम्बन्धी विवरणमाथि अनुसन्धान जारी राखेको जनाएको छ ।अनुसन्धान अधिकारीहरूका अनुसार देउवा परिवारसँग जोडिएका केही अचल सम्पत्ति र कारोबारमाथि थप छानबिन भइरहेको छ । विशेषगरी छोरा जयवीर देउवाको नाममा रहेको करिब ७३ रोपनी जग्गाको स्रोतबारे अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।यद्यपि देउवा परिवारले सबै सम्पत्ति कानुनी स्रोतबाट आर्जन गरिएको दाबी गर्दै आएको छ ।


यो पनि पढ्नुहोस: आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा सार्वजनिक हुँदै, मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने, आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा,  कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउपछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु,  बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर,  चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैनखिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्