१४ जेठ, काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय गरेसँगै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ नामको नयाँ मन्त्रालय गठन गरिएको छ । प्रशासनिक सुधार, मितव्ययिता र प्रविधिमैत्री शासनको लक्ष्यसहित गठन गरिएको यो मन्त्रालय अहिले संक्रमणकालीन अवस्थामै रहेर काम गरिरहेको छ ।सरकारले शिक्षा मन्त्रालयअन्तर्गत रहेको विज्ञान–प्रविधि क्षेत्रलाई अलग गरी नवप्रवर्तनसम्बन्धी कार्यलाई समेट्दै छुट्टै मन्त्रालय बनाएको हो ।
प्रारम्भमा यस्तो मन्त्रालय गठन हुने संकेत नदेखिएपछि आविष्कारक तथा पूर्वशिक्षामन्त्री महावीर पुन ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । उनले विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता नदिए देश आर्थिक रूपमा पछि पर्ने चेतावनी दिएका थिए ।पछि सरकारमाथि दबाब बढेपछि अन्ततः ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरिएको हो । महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको भन्दै सरकारलाई धन्यवादसमेत दिएका थिए ।
अहिले कहाँबाट चलिरहेको छ मन्त्रालय ?
हाल यो मन्त्रालय पूर्ण रूपमा आफ्नै संरचनामा सरिसकेको छैन । प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रालयले अहिले आफ्नै लेटरहेडबाट काम सुरु गरिसकेको छ, तर भौतिक पूर्वाधार व्यवस्थापनको काम अझै जारी छ ।
सरकारले नयाँ मन्त्रालयलाई साविकको खेलकुद मन्त्रालय रहेको भवनमा सार्ने तयारी गरेको छ । खेलकुदसम्बन्धी संरचना पूर्ण रूपमा शिक्षा मन्त्रालयतर्फ स्थानान्तरण भएपछि मात्रै नवप्रवर्तन मन्त्रालय त्यहाँ सर्ने बताइएको छ ।अहिलेसम्म बोर्ड राख्ने काम सम्पन्न भइसकेको छ भने अधिकांश प्रशासनिक काम शिक्षा मन्त्रालयकै संरचनाबाट सञ्चालन भइरहेको छ ।
बजेट र कर्मचारी व्यवस्थापन चुनौती
नयाँ मन्त्रालय गठन भए पनि चालु आर्थिक वर्षको बजेट भने पुरानै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा रहेको छ । त्यसैले अहिलेको कामकाज सोही बजेट प्रणालीमार्फत भइरहेको छ ।
साविकको विज्ञान–प्रविधि महाशाखाका सहसचिव शैलेसकुमार झाका अनुसार दैनिक प्रशासनिक काम, अनुगमन र नीतिगत गतिविधि नियमित रूपमा चलिरहेका छन् ।उनले भने, “कुनै पनि काम रोकिएको छैन । पुरानै संरचनाबाट भए पनि नयाँ मन्त्रालयको नाममा काम भइरहेको छ ।”हाल मन्त्रालयमा सचिवसमेत नियुक्त भइसकेको छैन । सचिव सरुवा भएपछि पद रिक्त रहेकाले तत्कालीन विज्ञान–प्रविधि विभागका कर्मचारीहरूले नै नियमित काम सम्हालिरहेका छन् ।
संगठन संरचना निर्माण हुँदै
सरकारले मन्त्रालयको दीर्घकालीन संरचना निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रक्रिया अघि बढाएको छ । यसले मन्त्रालयमा कति कर्मचारी आवश्यक पर्छन्, कुन विभाग रहनेछन् र कसरी संरचना विस्तार गरिनेछ भन्ने तय गर्नेछ ।प्रधानमन्त्री कार्यालयका अनुसार ओएनएम प्रतिवेदन अन्तिम भएपछि मन्त्रालय पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
किन महत्त्वपूर्ण मानिएको छ ?
नेपालमा लामो समयदेखि विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता नदिइएको गुनासो रहँदै आएको थियो । नयाँ मन्त्रालय गठन भएपछि अब स्टार्टअप, अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन र वैज्ञानिक सोचलाई संस्थागत रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।विशेषगरी युवा अनुसन्धानकर्ता, प्रविधि उद्यमी तथा आविष्कारकहरूका लागि यो मन्त्रालयले नीति निर्माण, बजेट र कार्यक्रममार्फत सहकार्य गर्ने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस: पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ, राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब, नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी, क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply