२२ साउन, काठमाडौं । सरकारले देशका प्रमुख तीन प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ नेतृत्व चयन गर्दै ८३ जना प्राज्ञसभा सदस्यहरू मनोनीत गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव तथा परिषद् सदस्यहरू समावेश गरी नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संस्कृति मन्त्री खडक राज पौडेल (गनेस)को संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा यी नियुक्तिहरू गरिएका हुन्। तीनवटै प्रतिष्ठानका लागि गरी कुल ८३ जना प्राज्ञसभा सदस्य चयन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस निर्णयसँगै लामो समयदेखि नेतृत्वविहीन वा पुनर्गठनको पर्खाइमा रहेका सांस्कृतिक तथा साहित्यिक निकायहरूले पूर्णता पाएका छन्।
नेपालको भाषा, साहित्य, दृश्य कला, लोकसंस्कृति, सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा प्रज्ञा प्रतिष्ठानहरूको भूमिका केन्द्रीय रहँदै आएको छ। नयाँ पदाधिकारीहरूको आगमनले प्राज्ञिक अनुसन्धान र सिर्जनात्मक गतिविधिहरूलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
नवनियुक्त टोलीले कला-संस्कृति र साहित्यको उत्थानका साथै समावेशी प्रज्ञा अभ्यासलाई प्राथमिकता दिने विश्वास लिइएको छ। स्वच्छ र निष्पक्ष प्राज्ञिक वातावरण निर्माण गर्दै राष्ट्रिय सांस्कृतिक सम्पदाराई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नयाँ नेतृत्वको कदम महत्त्वपूर्ण हुनेछ।




















Leave a Reply