२२ साउन, काठमाडौं । नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकको करोडौँ रुपैयाँ आर्थिक हिनामिना तथा बैंकिङ कसुर प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष टोलीले उनीहरूलाई नेपालगन्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बैंकका तत्कालीन सीईओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र घोटाला प्रकरणमा जोडिएका अर्का एक व्यक्ति रहेका छन्। लामो समयदेखि बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि फरार सूचीमा रहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप अनुसन्धान प्रक्रिया तीव्र बनाइएको बाँके प्रहरीले जनाएको छ।
कर्णाली डेभलपमेन्ट बैंकमा बचतकर्ताको रकम हिनामिना, प्रक्रिया नपुर्याई मनपरी कर्जा प्रवाह, र वित्तीय सुशासन विपरीत ठूलो रकम अपचलन भएको पाइएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो। केन्द्रीय बैंकको विस्तृत छानबिनपश्चात् बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको हो। अनुसन्धानका क्रममा तत्कालीन व्यवस्थापन पक्षले पदीय दुरुपयोग गरी बैंकलाई ठूलो आर्थिक क्षति पुर्याएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई बैंकिङ कसुर सम्बन्धी मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। यस प्रकरणमा बैंकका अन्य सम्बद्ध व्यक्तिहरू समेत अनुसन्धानको दायरामा रहेको र फरार रहेका अन्य संदिग्धहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।




















Leave a Reply