२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीको संस्थापनइतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने निश्चित भएको छ। आगामी श्रावण २९ गते काठमाडौँमा आयोजना गरिन लागिएको उक्त विशेष भेलाको उद्घाटन समारोहलाई नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीभित्र पछिल्लो समय देखिएका विविध साङ्गठनिक र राजनीतिक विषयमा गहन छलफल गर्नका लागि यो भेला आह्वान गरिएको हो।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार यो भेला पार्टी विभाजनका लागि नभएर आन्तरिक लोकतन्त्र सुदृढ बनाउन र संगठनलाई चुस्त बनाउन आयोजना गरिएको हो। केही सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भेलाले पार्टी विभाजनको रूप लिन सक्ने भन्ने अड्कलबाजी भइरहेका बेला सचिवालयले सो कुराको खण्डन गर्दै विचार विमर्श र रचनात्मक सुझाव सङ्कलनका लागि मात्र भेला हुन लागेको प्रस्ट पारेको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनपश्चात् संस्थापन पक्ष र इतर पक्षबीच शक्ति सन्तुलन, अवसरको समान वितरण तथा भ्रातृ संस्थाहरूको तदर्थ समिति गठनका विषयमा निरन्तर असन्तुष्टि प्रकट हुँदै आएको छ। इतर समूहले पार्टी नेतृत्वलाई विधानअनुसार सञ्चालन हुन र भ्रातृ शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिन निरन्तर दबाब दिँदै आएको छ। यस्तो जटिल साङ्गठनिक पृष्ठभूमिमा हुन लागेको यो राष्ट्रिय भेलालाई राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
आयोजकका अनुसार देशभरका महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी तथा भ्रातृ संस्थाका प्रतिनिधिहरू भेलामा सहभागी हुनेछन्। भेलाले आगामी रणनीतिक खाका तय गर्नुका साथै पार्टी नेतृत्वलाई थप जिम्मेवार र उत्तरदायी बनाउन महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। पार्टीलाई आगामी दिनहरूमा थप सशक्त बनाएर लैजान र कार्यकर्ताको मनोबल उच्च राख्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने दाबी गरिएको छ।


















Leave a Reply