कोरला नाकाबाट विद्युतीय सवारी आयातमा भारी वृद्धि, चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड राजस्व

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएको मुस्ताङस्थित कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार थान भन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। बाढीका कारण रसुवागढी नाका ठप्प भएपछि व्यापारीहरूले कोरला नाकालाई प्रयोग गर्दा विद्युतीय सवारी आयातमा अप्रत्याशित वृद्धि भएको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार सोही अवधिमा सवारी साधनसहित विभिन्न वस्तुको आयातबाट १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ, जुन कार्यालयको वार्षिक लक्ष्यभन्दा पनि धेरै हो।

भन्सार कार्यालयका अधिकृत अमिन्द्र सिंहका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १०० थान, भदौमा एक हजार २५३ थान तथा असोज र कात्तिक महिनामा गरी थप पाँच हजार ६४७ थान विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको हो। गत वर्ष सोही नाकाबाट वर्षभरिमा जम्मा तीन हजार २२३ थान मात्र विद्युतीय गाडी भित्रिएका थिए। यसरी छोटो अवधिमै यति ठूलो परिमाणमा सवारी साधन आयात भएको यो पहिलो घटना भएको भन्सार प्रशासनले जनाएको छ।

आयातमा देखिएको यो उछालको मुख्य कारण गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी हो। बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि आयातकर्ता तथा व्यापारीहरूले उत्तरी सीमाको वैकल्पिक मार्गका रूपमा कोरला नाका रोज्न थालेका हुन्। रसुवागढी नाका ठप्प भएपछि तातोपानी र कोरला नाकाबाट वैदेशिक व्यापार सञ्चालन भइरहेको छ, जसमध्ये विद्युतीय गाडी आयातका लागि कोरला नाका बढी प्रयोगमा आएको देखिन्छ।

सवारी साधनको उच्च आयातसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलनमा ऐतिहासिक सफलता मिलेको छ। चालु आर्थिक वर्षका लागि भन्सार कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य जम्मा नौ अर्ब रुपैयाँ तय गरिएको थियो। तर, पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी अर्थात् कुल १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ। यसले मुस्ताङ भन्सारलाई देशकै प्रमुख राजस्व संकलन केन्द्रका रूपमा उभ्याएको छ।

पहिलो चौमासिक अवधिमा कोरला नाका भएर चीनबाट कुल ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरको मालवस्तु नेपाल आयात भएको छ। चीनबाट मुख्यतः विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक्स सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न आयात भइरहेका छन्। अर्कोतर्फ, सोही नाका हुँदै नेपालबाट चीनतर्फ भने २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका वस्तु निर्यात भएका छन्। नेपालबाट मुख्य गरी हस्तकलाका सामग्री तथा स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेको छ।

नाकाबाट ठूलो परिमाणमा गाडी र मालसामान भित्रिए पनि भौगोलिक विकटता र पूर्वाधार अभावका कारण ढुवानी प्रक्रिया भने जटिल बनेको छ। कोरला नाकाबाट जाँचपास भएर निस्किएकादर्जनावौँ विद्युतीय सवारीसाधनहरू अझै पनि मुस्ताङ र आसपासका जोखिमपूर्ण सडक खण्डमा अड्किएका छन्। कठिन हिमाली सडक, भौगोलिक चुनौती र दक्ष चालकको अभावका कारण भन्सार छुटेका गाडीहरूलाई सुरक्षित रूपमा पोखरा वा काठमाडौँसम्म पुर्‍याउन गम्भीर चुनौती थपिएको छ।

पूर्वाधार सुधार र सडक स्तरोन्नति गर्न सकिए कोरला नाका नेपाल–चीन व्यापारको भरपर्दो र दीर्घकालीन व्यापारिक केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ। सरकारले सडक सुरक्षा बढाउनुका साथै भन्सार पूर्वाधारलाई अझ सुदृढ बनाएमा यस नाकाबाट हुने वैदेशिक व्यापारले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *