१२ मंसिर, काठमाडौं ।
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) ले क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएको छ। केन्द्रका अनुसार देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा हाल मासिक सरदर ६२ हजार थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिने गरेको छ।
चालु आर्थिक वर्षको साउन महिनायता सुरक्षण मुद्रण केन्द्रले कूल दुई लाख ५० हजार थान स्मार्ट लाइसेन्स छपाई गरिसकेको छ। केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट प्राप्त तथ्याङ्कलाई प्राथमिकताका आधारमा प्रशोधन गरी आधुनिक मुद्रण प्रणालीमार्फत लाइसेन्स तयार पारिँदै आएको हो।
विगत लामो समयदेखि देशभरका सेवाग्राहीहरूले सवारी चालक अनुमतिपत्र पाउन महिनौँ पर्खनुपर्ने सास्ती व्यहोर्दै आएका थिए। सुरक्षण मुद्रण केन्द्रले नियमित र दु्रत गतिमा छपाई सुरु गरेपछि लाइसेन्स वितरणको बाँकी बक्यौता (ब्याकलग) घटाउन ठूलो सहयोग पुगेको छ। केन्द्रले उत्पादन गरेका लाइसेन्सहरू क्युआर कोडसहितका उच्च सुरक्षित मानिन्छन्।
काभ्रेको पनौतीमा अवस्थित यस केन्द्रलाई राज्यका अति संवेदनशील कागजातहरू स्वदेशमै सुरक्षित रूपमा मुद्रण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। राहदानी, नागरिकता, अन्तःशुल्क स्टिकर तथा स्मार्ट कार्डहरू विदेशी मुलुकमा छापेर ल्याउनुपर्ने निर्भरता अन्त्य गर्न केन्द्रले आफ्नो प्रविधि र जनशक्तिलाई निरन्तर स्तरोन्नति गरिरहेको छ।
यातायात व्यवस्था विभाग र मुद्रण केन्द्रबीचको प्रभावकारी समन्वयका कारण हाल देशभरका यातायात कार्यालयहरूबाट सङ्कलन भएका विवरणहरू छिटो प्राप्त हुने र मुद्रण भई पुनः सम्बन्धित कार्यालयहरूमा पठाउने प्रक्रिया सुचारु बनेको छ। आगामी दिनमा छपाई क्षमतालाई अझ विस्तार गर्दै सेवाग्राहीलाई तोकिएको समयमै लाइसेन्स उपलब्ध गराउने लक्ष्य केन्द्रले लिएको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com








Leave a Reply