चैत २४ काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डी कारोबार गरिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा आइतबार साँझ चार जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विभिन्न विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंक को निर्देशन विपरीत अभौतिक मुद्रा (क्रिप्टो) प्रयोग र अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ। पक्राउ पर्नेहरूमा सवन अधिकारी, आशिष अधिकारी, रबिन जि.आर. र अनित्य शाक्य रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले क्रिप्टोको खरिदबिक्री तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसार गर्दै आएको खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट ३० लाख नगद, ६ थान मोबाइल र Apple कम्पनीको एक म्याकबुक समेत बरामद गरेको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी कारोबार तथा अभौतिक मुद्रा प्रयोगसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

