२ मंसिर, काठमाडौं ।
नेपाल-फ्रान्स सम्बन्ध लाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष महामहिम बियाट्रिस पिरोनबीच काठमाडौँमा शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, संसदीय कूटनीति तथा आर्थिक सहयोगका विविध आयामबारे गहन छलफल भएको छ।
भेटका क्रममा सभामुख अर्यालले सन् १९४९ अप्रिल २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको स्मरण गराउनुभयो। नेपालले फ्रान्ससँगको ऐतिहासिक सम्बन्धलाई उच्च प्राथमिकता र महत्त्व दिँदै आएको स्पष्ट पार्दै उहाँले आगामी दिनमा संसदीय आदानप्रदानमार्फत द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
नेपालमा लगानी र व्यापारिक सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले फ्रान्सेली लगानीकर्ताहरूका लागि नेपालमा ऊर्जा, पर्यटन, कृषि तथा प्रविधिका क्षेत्रमा प्रशस्त अवसरहरू रहेको बताउनुभयो। नेपाल हाल वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्न कानुनी र संरचनागत सुधारको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले फ्रान्सेली उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भई लगानी गर्न आह्वान गर्नुभयो।
सो अवसरमा फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले दुई देशका संसद्बीच अनुभव आदानप्रदान र संसदीय भ्रमणलाई अझ तीव्र बनाउन फ्रान्सेली पक्ष इच्छुक रहेको बताउनुभयो। नेपालको लोकतान्त्रिक अभ्यास र विकास प्रयासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत उहाँले दोहोर्याउनुभयो।
नेपाल र फ्रान्सबीच अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि जलवायु परिवर्तन, मानव अधिकार र बहुपक्षीयताका मुद्दाहरूमा समान धारणा रहँदै आएको छ। दुवै देशका प्रतिनिधिहरूबीच भएको यस उच्चस्तरीय भेटघाटले दुई राष्ट्रबीचको सरकारी तहका साथै जनता-जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस किसिमको नियमित संसदीय संवाद र उच्चस्तरीय भेटघाटले नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धलाई नयाँ गति दिने तथा आर्थिक-सामाजिक सहकार्यका सम्भावनाहरूलाई व्यवहारमा उतार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com








Leave a Reply