कपिलवस्तु नगरपालिकाका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्। तीन दिन अघिदेखि घरबाट सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव जिल्लाको जंगल क्षेत्रमा भेटिएको हो। प्रहरीको निरन्तर खोजी कार्यपछि आइतबार उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार सिंहको शव पूर्व-पश्चिम राजमार्गभन्दा करिब आठ किलोमिटर भित्र गोरुसिङ्गे तथा तिलौराकोट सामुदायिक जंगल क्षेत्रमा फेला परेको हो। शुक्रबार दिउँसोदेखि हराइरहेका उहाँको खोजीका लागि प्रहरी टोली र स्थानीय बासिन्दा लगातार खटिएका थिए। खोजीका क्रममा उहाँले प्रयोग गर्ने लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल जंगलभित्र बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले सोही क्षेत्रलाई केन्द्रित गरेर अनुसन्धान तीव्र बनाएको थियो।
पारिवारिक स्रोतका अनुसार सिंह गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै निवासबाट निस्किनुभएको थियो। साँझसम्म पनि घर नफर्किएपछि र फोनमा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजीका लागि प्रहरीमा खबर गरेका थिए। नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको नगरप्रमुख बनेका सिंह स्थानीयस्तरमा एक निष्ठावान् र प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्थ्यो।
प्रहरीले घटनाको प्रकृति र वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अनुसन्धान सुरु गरेको छ। शवको पोस्टमार्टमका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र रिपोर्ट आएपछि मात्र मृत्युको स्पष्ट कारण खुल्ने प्रहरीको भनाइ छ। पूर्वमेयर सिंहको असामयिक निधनको खबरले कपिलवस्तुवासी र राजनीतिक वृत्तमा शोक छाएको छ।





















Leave a Reply