बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा उल्लेख्य रूपमा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा भन्सार कार्यालयले लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी अर्थात् कुल एक करोड छ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व असुली गरेको छ।
कार्यालयका अनुसार विभागले उक्त वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य तोकेको थियो। तर, सीमा क्षेत्रमा निगरानी र व्यापारिक गतिविधिमा भएको सुधारका कारण लक्ष्यभन्दा करिब १५ लाख २४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो। सङ्कलित राजस्वमा भारतबाट आयात हुने वस्तुहरूको भन्सार महसुल तथा अन्य करको प्रमुख योगदान रहेको छ।
झुलाघाट नेपाल र भारत जोड्ने सुदूरपश्चिमको प्रमुख परम्परागत नाका हो। यस नाकाबाट मुख्य रूपमा खाद्यान्न, लत्ताकपडा, फलफूल, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री आयात हुने गर्दछ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणमा कडाइ गरिएकाले पनि सरकारी राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ।
भौतिक पूर्वाधारको सीमितता र झोलुंगे पुलमार्फत मात्रै व्यापार सञ्चालन हुनुपर्ने बाध्यताका बाबजुद भन्सार असुलीमा सुधार हुनुलाई सकारात्मक रूपमा लिइएको छ। आगामी दिनहरूमा नाकाको पूर्वाधार विकास, प्रविधिको विस्तार र सीमा व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै राजस्व अभिवृद्धिलाई निरन्तरता दिइने भन्सार प्रशासनले जनाएको छ।




















Leave a Reply