१२ मंसिर, काठमाडौं ।
काठमाडौँ। सरकारले भोटेकोशी बाढी पीडित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा भरणपोषणका लागि विशेष सहायता योजनाको औपचारिक सुरुआत गरेको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ गोल्जुङबेसीबाट बिहीबारदेखि सुरु गरिएको यस योजनाअन्तर्गत विपद्मा अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकालाई १८ वर्षको उमेर नपुगेसम्म प्रतिमहिना १७ हजार ५०० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बाढीमा श्रीमान् गुमाएकी एक २९ वर्षीया सुत्केरीको बैंक खातामा पहिलो महिनाको रकम जम्मा गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो।
विपदका कारण अति उच्च जोखिममा परेका, आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई लक्षित गरी यो राहत कार्यक्रम सञ्चालन गरिएको हो। सरकारको दीर्घकालीन योजनाअनुसार सहायता पाउने बालबालिकाले आफ्नै आमा र परिवारको संरक्षणमा रहेर बालिग नभएसम्म निरन्तर आर्थिक सहयोग प्राप्त गर्नेछन्। बालबालिकाको सर्वोत्तम हित, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर सरकारले यो पुनःस्थापनाको खाका कार्यान्वयनमा ल्याएको मन्त्री वादीले जानकारी दिनुभयो।
यसैबीच, सरकारले बाढी प्रभावित बालबालिकालाई उद्धार वा सहयोगका नाममा आफूखुसी अन्यत्र लैजान कडा प्रतिबन्ध लगाएको छ। स्थानीय तहको आधिकारिक सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को स्पष्ट समन्वय र सहमतिबिना कुनै पनि व्यक्ति वा संस्थाले बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाउने नीतिगत व्यवस्था गरिएको छ। संस्थागत संरक्षणका नाममा हुन सक्ने अव्यवस्था र सम्भावित दुरुपयोग रोक्न सरकारले यस्तो कडा कदम चालेको मन्त्रालयले जनाएको छ।
यो राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यक्रम राष्ट्रिय बाल अधिकार परिषद् र गैरआवासीय नेपाली गैरआवासीय अगुवा शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफ (MITGF) को सहकार्यमा अघि बढाइएको हो। बाढी प्रभावित क्षेत्रमा बालबालिकाको जोखिम मूल्याङ्कन गर्न परिषद्की सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा विशेष टोली परिचालन गरिएको थियो। स्थलगत अध्ययनका क्रममा रसुवाको गोल्जुङबेसीमा सुत्केरी र नवजात शिशुको अवस्था अत्यन्तै जोखिमपूर्ण पाइएपछि उनीहरूलाई तत्काल पहिलो किस्ता रकम हस्तान्तरण गरिएको हो।
बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार तथा संरक्षणका लागि सरकार र एमआइटिजीएफबीच कुल ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको छ भने मन्त्रालयको बालकोषमा थप सात करोड रुपैयाँ मौज्दात रहेको छ। हालसम्म विभिन्न साझेदार संस्थामार्फत कुल ८१० जना बालबालिकाको दीर्घकालीन हेरचाहका लागि सम्झौता भइसकेको छ। जसअन्तर्गत एमआइटिजीएफमार्फत १५० जना, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० जना र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई संरक्षण तथा पोषण सेवा उपलब्ध गराइनेछ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com















Leave a Reply