चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत शान्नानमा सञ्चालित एक सहकारीले शताब्दीयौँ पुरानो परम्परागत ऊनी वस्त्र बुनाइ कलाको संरक्षण गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाइरहेको छ। ‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’ नामक उक्त संस्थाले तिब्बती सांस्कृतिक पहिचानका रूपमा रहेको ऊनी कपडा ‘पुलु’ र यसको परिष्कृत तथा उत्कृष्ट प्रकार ‘जेटर’को उत्पादनलाई निरन्तरता दिँदै प्राचीन सीपको जगेर्ना गरिरहेको छ। यस पहलले तिब्बतको प्राचीन संस्कृति र हस्तकलालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सहकारीमा हाल दर्जनौँ स्थानीय महिला तथा पुरुषहरू परम्परागत काठको तानमा बसेर रङ्गीचङ्गी ऊनका धागोबाट आकर्षक र गुणस्तरीय कपडा बुन्न व्यस्त देखिन्छन्। तिब्बती मौलिक पोशाक, च्याङ्ग्रा तथा भेडाको ऊनबाट तयार पारिने ‘पुलु’ विशेष प्रकारको ऊनी कपडा हो। यसैगरी ‘जेटर’ यसको सबैभन्दा उत्कृष्ट, मसिनो र बहुमूल्य उत्पादन मानिन्छ। परम्परागत तान र हातको सीप प्रयोग गरेर तयार पारिने यी वस्त्रहरू आफ्नो मौलिकता, टिकाउपन र न्यानोपनका लागि प्रसिद्ध छन्। हस्तनिर्मित भएकाले यी कपडाहरूको माग स्थानीय बजारका साथै पर्यटकीय क्षेत्रहरूमा पनि अत्यधिक रहेको छ।
आधुनिक प्रविधिको तीव्र विस्तार र बजारमा तयारी पोसाकको बढ्दो प्रभावका कारण परम्परागत हस्तकला लोप हुने जोखिम बढिरहेका बेला यस सहकारीले सीप हस्तान्तरणको बलियो माध्यमका रूपमा काम गरिरहेको छ। स्थानीय बासिन्दालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्दै नयाँ पुस्तालाई परम्परागत बुनाइ कलाप्रति आकर्षित गर्न विशेष तालिमहरू सञ्चालन गरिँदै आएको छ। यस अभियानले एकातिर लोप हुन लागेको सांस्कृतिक सम्पदाको जगेर्ना गरेको छ भने अर्कोतिर विशेष गरी ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्याएको छ।
स्थानीय परम्परा, कला र मौलिक संस्कृतिलाई आधुनिक अर्थतन्त्रसँग जोडेर लैजाने यो प्रयास तिब्बतमा रोजगारी र सांस्कृतिक संरक्षणको एक सफल नमुना बनेको छ। प्राचिन प्रविधि र हातको सीपलाई प्रवर्द्धन गर्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र स्थानीयको जीवनस्तर उकास्ने यस्ता प्रयासले मौलिक तिब्बती उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र भावी पुस्ताका लागि यो ऐतिहासिक कला सुरक्षित राख्न ठूलो मद्दत पुग्ने देखिन्छ।






















Leave a Reply