दोलखामा मुस्ताङ एयरको हेलिकप्टर बेपत्ता, क्याप्टेनसहित ५ जना सम्पर्कबाहिर

चैत १३, काठमाडौं । मुस्ताङ एयर को एक हेलिकप्टर आज दिउँसोदेखि सम्पर्कविहीन भएको छ।

नाइन एन–एएनओ कलसाइन रहेको उक्त हेलिकप्टर काठमाडौंबाट दोलखातर्फ उडेको थियो। नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार क्याप्टेन सुरज थापा सहित पाँच जना सवार थिए, जससँग अहिले सम्पर्क हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोज लामा ले हेलिकप्टर बिगु गाउँपालिका–१ लुम्नाङबाट उडेको जानकारी दिएका छन्। उनका अनुसार हेलिकप्टर लाप्त्चे क्षेत्रतर्फ गएको बुझिएको छ, तर त्यहाँ सुरक्षित अवतरण भएको हो वा होइन भन्नेबारे पुष्टि हुन बाँकी छ।

उक्त क्षेत्र दुर्गम भएकाले प्रहरी टोलीलाई घटनास्थल पुग्न ६–७ घण्टा लाग्ने बताइएको छ। यसैबीच, मौसम पनि प्रतिकूल रहेको र पानी परिरहेकाले खोजी कार्यमा चुनौती थपिएको छ।

प्रहरीका अनुसार हेलिकप्टरसँग अन्तिम पटक आज मध्याह्न १२:४५ बजे सम्पर्क भएको थियो। त्यसयता कुनै सूचना प्राप्त हुन सकेको छैन।


यो पनि पढ्नुहोस्