काठमाडौं, चैत ११ | काठमाडौं — तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजालले आफूले सिधै गोली चलाउन आदेश नदिएको बताएका छन्।
जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली प्रयोग गर्न मात्र मौखिक निर्देशन दिएको स्पष्ट पारेका छन्। उनका अनुसार अन्तिम बल प्रयोग अर्थात् सिधै गोली चलाउने आदेश आफूबाट जारी भएको थिएन।
रिजालले बयानमा भनेका छन् कि कर्फ्युका बेला भीड बढ्दै गए पनि सुरक्षाकर्मीलाई संयमित रहन र हतार नगर्न निर्देशन दिइएको थियो। भीड नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोग गर्न, मानव अधिकार र बाल अधिकारको सम्मान गर्न तथा सुझबुझका साथ काम गर्न बारम्बार भनिएको उनले उल्लेख गरेका छन्।
तनावपूर्ण अवस्थाका कारण संसद भवन आसपासको वास्तविक अवस्था—कति प्रदर्शनकारी थिए, कति बल प्रयोग भयो वा कति घाइते भए—समयमै स्पष्ट जानकारी आउन नसकेको उनले बताए। तर प्रदर्शनकारीहरूले हेलमेट लगाएर ढुंगा, इँटा, हतौडा, घन, रङ, छिनो र गुलेलीजस्ता सामग्री बोकेको रिपोर्ट प्राप्त भएको उनले जनाएका छन्।
पछि मात्र संसद भवन परिसरभित्र गोली चलेको जानकारी आएको उनले बताएका छन्।
उनका अनुसार करिब सवा २ बजेतिर एक प्रदर्शनकारीको मृत्यु भएको खबर आएको थियो। स्थिति नियन्त्रणबाहिर जाँदा न्यूनतम बल प्रयोग गर्न निर्देशन दिइएको र अन्तिम विकल्पका रूपमा मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन भनिएको उनको भनाइ छ।

