२०८२ चैत ११ गते — पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिगमा नेपालका आठ खेलाडीले भाग लिने भएका छन्।
नेपाली टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित आठ जना खेलाडी विभिन्न टिममा ड्राफ्ट भइसकेका छन्। दीपेन्द्रलाई जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्समा प्रि-साइन भइसकेका थिए।
आजको ड्राफ्टमा रोहितसहित चार खेलाडी विभिन्न टोलीमा अनुबन्ध भएका छन्। अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट जेबीमा समावेश भएका हुन्। कप्तान रोहित गेन्ट ग्लाडियटर्समा क्याटेगोरी ‘बी’ बाट साइन भए भने विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्धित भए।
ललित राजवंशी र इशान पान्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ। अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि यही टोलीमा आबद्ध भएका छन्। यी चारै जना क्याटेगोरी ‘सी’ का खेलाडी हुन्।
जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ। यसअघि यस टोलीले न्युजिल्यान्डका कलिन मनरो, दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन, वायन पार्नेल र निखिल चौधरीलमई प्रि-साइन गरिसकेको थियो।
इयू टी-२० लिगका लागि २२ नेपाली खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्ट र प्रि-साइन भइसकेकाबाहेक अन्य दर्ता गराएका खेलाडीमा कुशल भुर्तेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदित्य महता, शेर मल्ल, लोकेश बम, विनोद भण्डारी, शरद भेषावकर, आदिल आलम, सन्तोष यादव, कुशल मल्ल, भीम सार्की, शाहब आलम, गुल्शन झा र पवन सर्राफ छन्।
ललित, आसिफ र इशानको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग अनुभव हुनेछ। कप्तान रोहित, उपकप्तान दीपेन्द्र र सन्दीपले पहिले नै विदेशमा फ्रेन्चाइज लिग खेलेका छन्।
लिगको ड्राफ्ट प्रक्रिया अनुसार हरेक टिमले ५ खेलाडी प्रि-साइन गरेका थिए। ड्राफ्टमा ७ राउन्डमा खेलाडी चयन गरियो, जसले गर्दा प्रत्येक टिममा १२ खेलाडी भइसके। त्यसपछि बेल्जियमका खेलाडी छानिँदै प्रत्येक टिममा कम्तीमा ४ जना स्थानीय खेलाडी सुनिश्चित गरिएको थियो।
अप्सनल राउन्डबाट टिमले दुई जना अतिरिक्त खेलाडी समावेश गर्न पाउने प्रावधान अनुसार अनिल साह र गुल्शन झा पनि जेबीमा आबद्ध भएका थिए। पहिलो राउन्डमा क्याटेगोरी ‘ए’, दोस्रो राउन्डमा ‘बी’ र अन्तिम चार राउन्डमा ‘सी’ का खेलाडी चयन भएका थिए। प्रत्येक टिममा कम्तीमा १६ र बढीमा १८ खेलाडी रहने व्यवस्था गरिएको छ।

