चैत ११, २०८२ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि सुरु भइसकेको छ र आज पनि बस्नेछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा समसामयिक विषय, सुशासन स्थापना, संविधान संशोधनको अध्ययन र सुझावका लागि विज्ञसहित समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, र केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा छलफल भइरहेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावमाथि आज पनि छलफल जारी रहनेछ।
महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आगामी भदौ २४–२६ गते १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका छन्। कार्यतालिकाअनुसार चैत २१ देखि मसान्तसम्म क्रियाशील सदस्यता फारम वितरण, वैशाखभर सदस्यता अद्यावधिक, जेठमा विवरण संकलन र छानबिन, र असार १५ गतेसम्म केन्द्रबाट अन्तिम टुंगो लगाउने व्यवस्था गरिएको छ।
कार्यतालिका वर्षायाममा परेको कारणले पार्टीभित्र आलोचना पनि सुरु भएको छ। बैठकमा अन्य संगठनात्मक विषय, प्रदेश र स्थानीय तहको समीक्षा, भ्रातृ तथा शुभेच्छुक संस्थासम्बन्धी विषय, र केन्द्रीय लेखा समितिसम्बन्धी प्रस्तावसमेत छलफलमा रहेका छन्।

