रसुवामा सवारी दुर्घटना: डिब्बा गाडी खस्दा दुईजनाको मृत्यु

चैत १२, २०८२ | काठमाडौं — रसुवामा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ।

मृत्यु हुनेमा रसुवाको कालीका गाउँपालिका–१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र सोही गाउँपालिका–२ का २६ वर्षीय पेम्बा छेवाङ थोक्रा रहेका छन्।

प्रहरीका अनुसार ना ६ ख ५४९८ नम्बरको खाली डिब्बा गाडी पासाङ ल्हामु सडकखण्ड अन्तर्गत कालीकास्थानबाट धुन्चेतर्फ जाँदै गर्दा बुधबार राति अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।