चैत १२ गते | काठमाडौं — ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी ठूलो रकमको मुद्दामा दुई जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार करिब ५ करोड ७० लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता सम्बन्धी आरोपमा काभ्रेको पाँचखाल नगरपालिका–२, शिवचोकका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० की २८ वर्षीया सरिता गुनी पक्राउ परेका हुन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट नियन्त्रणमा लिएको हो। दुवै जनाविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा गुनीविरुद्ध यसअघि नै चितवनमा बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा दर्ता रहेको खुलेको छ, जसमा ३२ लाख र ३० लाख रुपैयाँ समावेश छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

