११ कात्तिक, काठमाडौं ।
डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘खल्ती’को प्रतिनिधि भएको झुटा परिचय दिएर सर्वसाधारणलाई खल्तीको कर्मचारी भन्दै ठगी गर्ने एक संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको विशेष टोलीले प्रविधिको दुरुपयोग गरी नागरिकको बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम हिनामिना गर्ने चार जना आरोपीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने आरोपीहरूमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन्। उनीहरूले लामो समयदेखि सर्वसाधारणलाई टेलिफोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी आफूहरू खल्ती डिजिटल वालेटको आधिकारिक कर्मचारी भएको दाबी गर्दै नियतवश भ्रममा पार्ने र वित्तीय ठगी गर्ने धन्दा सञ्चालन गर्दै आएका थिए।
अनुसन्धानका क्रममा आरोपीहरूले पीडितहरूलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक नगरेमा वालेट तथा बैंक खाता तुरुन्तै बन्द हुने भन्दै मानसिक दबाव दिने गरेको खुलेको छ। सर्वसाधारणलाई सजिलै विश्वासमा पार्न उनीहरूले बैंक खाता फ्रि मा जोडिदिने, व्यापारिक प्रयोजनका लागि रकम प्राप्त भएको आवाज आउने ई-स्पिकर बनाइदिने तथा फन्ड ट्रान्सफर गर्दा सेवा शुल्क नलाग्ने जस्ता आकर्षक प्रलोभन देखाउने गर्दथे।
उक्त गिरोहले ठगी प्रक्रिया पूरा गर्न ह्वाट्सएपमा अडियो वा भिडियो कलमार्फत सम्पर्क स्थापित गर्दथ्यो। प्राविधिक समस्या समाधान गरिदिने वा सुविधा थपिदिने बहानामा उनीहरूले पीडितहरूलाई आफ्नो मोबाइलको ‘स्क्रिन सेयर’ गर्न लगाउने गरेका थिए। स्क्रिन सेयर भइरहेकै अवस्थामा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) कोड आरोपीहरूले सजिलै देख्ने र सोही कोडको प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच बनाएर रकम अन्यत्र पठाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
पछिल्लो समय नेपालमा वित्तीय प्रविधिको पहुँच र प्रयोग व्यापक बनेसँगै प्रविधिका नाममा हुने ठगीका शैलीहरू पनि परिस्कृत हुँदै गएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ परेका चारै जना आरोपीहरूमाथि ठगी तथा साइबर अपराध सम्बन्धी कसुरमा आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
डिजिटल वालेट वा बैंकिङ सेवा प्रयोग गर्दा विशेष सजगता अपनाउन प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ। कुनै पनि बैंक वा वित्तीय संस्थाले फोन गरेर व्यक्तिगत गोपनीय विवरण, ओटीपी कोड, पासवर्ड वा स्क्रिन सेयर गर्न नलगाउने भएकाले अज्ञात व्यक्तिको प्रलोभनमा नपर्न र शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीमा खबर गर्न समेत अनुरोध गरिएको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com




















Leave a Reply