२६ साउन, काठमाडौं । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोलाको किनारमा मङ्गलवार एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। रत्ननगर नगरपालिका–१४ निवासी ६८ वर्षीय होमबहादुर परियार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार मङ्गलवार बिहान ११:४५ बजे कयर खोला किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभूषण यादवका अनुसार घटनाको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण प्रस्ट हुने प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार गरी मृतकका परिवारजनसँग सोधपुछ सुरु गरिसकेको छ। घटनाबारे थप तथ्य पत्ता लगाउन विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो।


















Leave a Reply