१५ चैत, काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिसम्बन्धी छानबिन प्रक्रिया अघि बढाइएको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबारे अनुसन्धान सुरु गरिएको गृह स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि सोही आधारमा अनुसन्धान अगाडि बढाइएको हो। सीआईबीले विभागको निर्देशनअनुसार आवश्यक विवरण संकलन र अध्ययनको काम थालेको बताइएको छ। यसैक्रममा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन्। सीआईबीका एआईजी डा. मनोज केसीले खड्कामाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि तीन पूर्वप्रधानमन्त्रीबारे भने खुलाएर केही बताएका छैनन्। तर, गृह स्रोतका अनुसार उनीहरूको सम्पत्तिसम्बन्धी फाइलमा पनि अनुसन्धान अघि बढाइएको छ।यसअघि जेनजी आन्दोलनको समयमा देउवाको निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि विभागले स्थलगत मुचुल्का उठाएको थियो। त्यस्तै, प्रचण्ड परिवार र ओलीको निवाससँग सम्बन्धित विवरणहरू पनि संकलन गरिएको थियो। हाल ती सबै तथ्यलाई आधार बनाएर अनुसन्धानलाई थप तीव्र बनाइएको जनाइएको छ।

