२३ कात्तिक, काठमाडौं ।
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक गाईपूजा गरी मनाइँदैछ। वैदिक सनातन धार्मिक परम्परा अनुसार आजका दिन गाईलाई स्नान गराई माला, सिन्दूर र टीका लगाएर मीठामीठा परिकार खान दिने प्रचलन रहेको छ। हिन्दू संस्कृतिमा गाईलाई अत्यन्त पवित्र र आदरणीय प्राणीका रूपमा लिइँदै गौमाताका रूपमा पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो र स्वास्थ्यवर्द्धक मानिने भएकाले नेपाली समाजमा गाईको स्थान उच्च रहेको छ। धार्मिक मान्यता अनुसार गाईको दूध, दही, घिउ, मूत्र र गोबरलाई ‘पञ्चगव्य’ का रूपमा विभिन्न सात्विक तथा माङ्गलिक कार्यहरूमा शुद्धीकरणका लागि प्रयोग गरिन्छ। आजको दिन बिहानै गाईलाई सरसफाइ गरी पूजा अर्चना गरेपछि सेलरोटी, पिठो, घाँस तथा अन्य मीठा पकवानहरू श्रद्धापूर्वक खुवाउने गरिन्छ।
यमपञ्चकको चौथो दिन गाईपूजाका साथसाथै कृषि कर्ममा महत्वपूर्ण योगदान दिने गोरुको पनि पूजा गर्ने गरिन्छ। वर्षभरि खेतबारीमा जोतिएर मानव जातिलाई अन्न उब्जाउन सहयोग गर्ने गोरुको योगदानको कदर गर्दै आजका दिन गोरुलाई मीठा परिकार खुवाएर सम्मान गरिन्छ। यसै दिन द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको धार्मिक स्मरण गर्दै घरको आँगनमा गाईको गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाई गोवर्धन पूजा समेत गर्ने गरिन्छ।
नेपाली सनातन संस्कृतिमा गाईको धार्मिक मात्र नभई आर्थिक र पर्यावरणीय महत्त्व पनि उत्तिकै उच्च रहेको छ। गाईको गोबर र मूत्रबाट बनाइने जैविक मलले माटोको उर्वरशक्ति बढाउन र रसायनमुक्त खेतीपाती गर्न ठूलो सहयोग पुर्याउँछ। आधुनिक विज्ञानले पनि गाईको दूधको पौष्टिक गुण र यसको जैविक महत्त्वलाई स्वीकार गरेको छ। यिनै विशेषताहरूका कारण गाईलाई नेपालको राष्ट्रिय जनावरका रूपमा समेत सम्मान दिइएको छ।
तिहारको चौथो दिनसम्म आइपुग्दा मुलुकभर उज्यालो र खुसीको रौनकता छाएको छ। साँझपख घरघरमा दीपावली गरी झिलिमिली बनाउने र परम्परागत भैलो खेलेर रमाइलो गर्ने क्रम जारी छ। मानव, प्रकृति र पशुपन्छी बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने तिहार पर्वले समाजमा सद्भाव, कृतज्ञता र भ्रातृत्वको सन्देश प्रवाह गरिरहेको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com






Leave a Reply