वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले बारा जिल्ला निवासी उप्रेतीलाई बोर्डको नयाँ कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यरत् बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धा गराइएको थियो। मन्त्रालयले आह्वान गरेको दरखास्तमा १३ जना आकांक्षीहरूले आवेदन दिएका थिए। प्राप्त आवेदनहरूमध्येबाट व्यावसायिक दक्षता र कार्ययोजनाका आधारमा उप्रेतीलाई उक्त जिम्मेवारी सुम्पिने निर्णय गरिएको हो।

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको हकहित संरक्षण, उनीहरूको उद्धार तथा पुनःस्थापना एवं कल्याणकारी कोषको कुशल व्यवस्थापन गर्ने मुख्य दायित्व वैदेशिक रोजगार बोर्डको रहन्छ। नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीका सामु विदेशमा अप्ठ्यारोमा परेका नेपाली कामदारका समस्या तत्काल सम्बोधन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको पारदर्शी उपयोग सुनिश्चित गर्ने र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने प्रमुख चुनौतीहरू रहेका छन्।

उप्रेतीको नेतृत्वमा बोर्डले श्रमिकमैत्री नीति तथा सुधारका कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने र वैदेशिक रोजगार क्षेत्रमा विद्यमान विकृति तथा विसंगतिको अन्त्य गर्न ठोस पहल गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *