उत्तरी फिलिपिन्समा भीषण पहिरोले तीन घर पुरिए, चार जनाको मृत्यु र छ बेपत्ता

उत्तरी फिलिपिन्सको पहाडी तथा पर्यटकीय सहर बागुइओमा गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि आएको पहिरोले स्थानीय बस्तीका तीनवटा घर पूर्ण रूपमा पुरेको छ।

स्थानीय अधिकारी तथा सञ्चारमाध्यमका अनुसार बागुइओ सहरस्थित बारान्गे गुइसद सुरोङको रिभरसाइड क्षेत्रमा आइतबार साँझ करिब ७ बजे अचानक पहिरो खसेको थियो। पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले नदी किनारमा रहेका आवासीय घरहरूलाई क्षणभरमै पुरेको थियो। पहिरोमा परेर ज्यान गुमाएका चार जनाको शव फेला पारिएको छ भने पुरिएका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण उद्धार टोलीलाई खोजी तथा राहत कार्यमा कठिनाइ भइरहेको छ। सुरक्षा निकाय, उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले पहिरोको पन्छाउँदै बेपत्ताहरूको खोजी जारी राखेका छन्। सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै सो क्षेत्रका अन्य बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

फिलिपिन्समा प्रत्येक वर्ष मनसुन र मनसुनी आँधीका कारण भारी वर्षा भई बाढी तथा पहिरोको प्रकोप दोहोरिने गर्छ। विशेष गरी पहाडी भूभाग र नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा रहने भएकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *