विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले होटल, विमानस्थल तथा सार्वजनिक स्थानहरूमा उपलब्ध गराइएका खुला वाइफाइ नेटवर्क प्रयोग गर्दा उच्च सतर्कता अपनाउन आफ्ना प्रयोगकर्ताहरूलाई गम्भीर चेतावनी दिएको छ। रुस सरकारको समर्थनमा सञ्चालित साइबर ह्याकर समूहहरूले सार्वजनिक स्थानका इन्टरनेट सञ्जालहरूलाई मुख्य निसाना बनाउँदै गोपनियता र संवेदनशील डाटामाथि घुसपैठ बढाएको अध्ययनले देखाएको छ। विशेषगरी वैदेशिक भ्रमणमा रहेका उद्यमी, कुटनीतिज्ञ तथा व्यावसायिक व्यक्तिहरूलाई लक्षित गरी यस्ता साइबर आक्रमणहरू तीव्र पारिएको छ।
माइक्रोसफ्टको थ्रेट इन्टेलिजन्स टोलीका अनुसार ह्याकरहरूले ‘म्यान-इन-द-मिडल’ जस्ता जटिल विधिहरू प्रयोग गरेर सार्वजनिक वाइफाइमा जोडिएका उपकरणहरूको पहुँच हात पार्ने गरेका छन्। जब कुनै प्रयोगकर्ता होटलको असुरक्षित वाइफाइमा जोडिन्छ, ह्याकरहरूले उपकरण र इन्टरनेट बीचको सञ्चारलाई बीचैमा रोकेर युजरनेम, पासवर्ड, वित्तीय विवरण तथा अन्य व्यक्तिगत डाटा सजिलैसँग चोर्न सक्छन्। कतिपय अवस्थामा ह्याकरहरूले सक्कली होटल वाइफाइ जस्तै देखिने नक्कली नेटवर्क सिर्जना गरी प्रयोगकर्तालाई झुक्याउने गरेको पाइएको छ।
साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार आतिथ्य क्षेत्रलाई निसाना बनाएर गरिने यस्ता जासुसी गतिविधिहरू विगत केही समयदेखि विश्वभर बढ्दै गएका छन्। रुस समर्थित साइबर अपराधीहरूले विशेष गरी अन्तर्राष्ट्रिय सम्मेलन, व्यावसायिक बैठक तथा राजनीतिक भ्रमणका क्रममा होटलमा बस्ने पाहुनाहरूलाई निसाना बनाउँदै आएका छन्। तर यो खतरा केवल उच्च पदस्थ अधिकारीहरूमा मात्र सीमित नरहेर सामान्य प्रयोगकर्ताहरूसम्म पनि फैलिएको छ। असुरक्षित नेटवर्कको प्रयोगले जोकसैको व्यक्तिगत परिचय चोरी हुने, बैंकिङ खाता जोखिममा पर्ने वा उपकरणमा मालवेयर प्रवेश गर्ने सम्भावना रहन्छ।
यस्ता सम्भावित साइबर जोखिमहरूबाट बच्नका लागि माइक्रोसफ्ट र सुरक्षा विशेषज्ञहरूले केही महत्त्वपूर्ण उपायहरू अवलम्बन गर्न सुझाव दिएका छन्। सार्वजनिक वा होटलको वाइफाइ प्रयोग गर्नै परेमा अनिवार्य रूपमा विश्वसनीय भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्नुपर्छ। यसका साथै आफ्ना सबै अनलाइन खाताहरूमा दुई-चरण प्रमाणीकरण लागू गर्ने, अपरेटिङ सिस्टम अद्यावधिक राख्ने र संवेदनशील वित्तीय कारोबारका लागि आफ्नै मोबाइल डेटाको प्रयोग गर्नु उत्तम हुन्छ।





















Leave a Reply