३१ भदौ, काठमाडौं ।
विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई समयसापेक्ष परिमार्जन र आधुनिकीकरण गर्न नसके सन् २०५० सम्ममा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म घट्न सक्ने चेतावनी दिएको छ। बहुपक्षीय व्यापार सम्झौता र सहकार्य कमजोर बन्दै जाँदा त्यसको प्रत्यक्ष असर विश्वव्यापी आर्थिक वृद्धिमा पर्ने सङ्गठनको निष्कर्ष छ।
सङ्गठनद्वारा हालै सार्वजनिक गरिएको ‘विश्व व्यापार प्रतिवेदन २०२६: विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ शीर्षकको अध्ययन प्रतिवेदनमा व्यापार नीतिहरूले विगत केही दशकयताकै सबैभन्दा गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। भू-राजनीतिक तनाव, संरक्षणवादी नीतिहरू र व्यापारिक विभाजनका कारण बहुपक्षीय व्यापार प्रणाली सङ्कटमा पर्दै गएको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन अनुसार विश्वव्यापी व्यापार प्रणाली खण्डित भई क्षेत्रीय वा सीमित देशहरूबीचको गुटमा विभाजन भएमा त्यसको सबैभन्दा ठूलो मार साना तथा विकासोन्मुख राष्ट्रहरूमा पर्नेछ। खुला र नियमआधारित अन्तर्राष्ट्रिय व्यापार सञ्जालले विगतका दशकहरूमा विश्वव्यापी गरिबी न्यूनीकरण र आर्थिक प्रगतिमा ठूलो योगदान पुर्याएको भए पनि वर्तमान अवरोधहरूले ती उपलब्धिहरूलाई जोखिममा पारेको डब्लूटीओको ठहर छ।
डब्लूटीओका अनुसार हरित प्रविधि, डिजिटल व्यापार र आपूर्ति श्रृंखला (सप्लाई चेन) को सबलीकरणका लागि नयाँ र सर्वस्वीकार्य नियमहरूको आवश्यकता छ। वर्तमान व्यापार सङ्कट समाधानका लागि विश्वका प्रमुख अर्थतन्त्रहरूबीच संवाद र पुन: बहुपक्षीय प्रतिबद्धता अपरिहार्य रहेको प्रतिवेदनमा जोड दिइएको छ। यदि सदस्य राष्ट्रहरूले व्यापार प्रणालीको स्तरोन्नतिमा ध्यान नदिए दीर्घकालीन रूपमा उत्पादनशीलता र रोजगारी सिर्जनामा समेत नकारात्मक असर पर्ने डब्लूटीओले जनाएको छ।
विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले आफ्ना सदस्य राष्ट्रहरूलाई व्यापार अवरोधहरू हटाउन, भन्सार दरहरूलाई सन्तुलित बनाउन र डिजिटल अर्थतन्त्रका नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न साझा रणनीति बनाउन आह्वान गरेको छ। सुदृढ बहुपक्षीय व्यापार संरचना कायम राख्न सके मात्र भावी आर्थिक सङ्कट टार्न सकिने निष्कर्ष प्रतिवेदनको छ।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com


















Leave a Reply