१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नयाँ सडक निर्माणभन्दा मर्मत र स्तरीकरणलाई प्राथमिकता दिने घोषणा गरेको छ। साथै भूमिहीन, सुकुमवासी, दलित तथा विपन्न परिवारका लागि कम्तीमा एक हजार सुरक्षित आवास निर्माण गरिने भएको छ।
प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबार प्रदेशसभा बैठकमा ८३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सुखी नागरिक, समृद्ध बागमती’ लक्ष्यसहित पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र डिजिटल सेवामा केन्द्रित योजना सार्वजनिक गरेका हुन्।सरकारले राजधानी हेटौंडालाई ‘बृहत्तर हेटौंडा’ अवधारणाअनुसार साइकल लेन, पैदलमार्ग, नदी करिडोर र सांस्कृतिक ग्रामसहित आधुनिक सहरका रूपमा विकास गर्ने नीति लिएको छ।
मन्त्रालय संख्या ८ मा सीमित गरिने
संरचनात्मक सुधारअन्तर्गत प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने घोषणा गरेको छ। सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउँदै नागरिक गुनासो व्यवस्थापनका लागि ‘हेलो सीएम डेस्क’ स्थापना गरिने उल्लेख गरिएको छ।प्रदेशभित्र सञ्चालित आयोजनाहरूको अनलाइन ट्र्याकिङ तथा ट्रेसिङ प्रणाली लागू गरिनेछ भने प्रशासनिक प्रणाली क्रमशः डिजिटल बनाइने जनाइएको छ।
सीसीटीभी र डिजिटल क्राइम ट्र्याकिङ
सार्वजनिक स्थलहरूमा सीसीटीभी जडान गरी डिजिटल क्राइम ट्र्याकिङ प्रणाली विकास गरिने नीति लिइएको छ। साइबर अपराध, लागुऔषध दुर्व्यसन तथा मानव बेचबिखन नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिने बताइएको छ।विपद् व्यवस्थापनअन्तर्गत पूर्वसूचना प्रणाली, विपद् गोदामघर तथा आपतकालीन कार्यसञ्चालन केन्द्र सुदृढ बनाइने नीति पनि सार्वजनिक गरिएको छ।
सुकुमवासी र विपन्न परिवारलाई १००० घर
प्रदेश सरकारले भूमिहीन, सुकुमवासी, दलित तथा विपन्न परिवारका लागि कम्तीमा एक हजार सुरक्षित घर निर्माण गर्ने घोषणा गरेको छ। चेपाङ, बोटे, माझी र थामी समुदायका लागि एकीकृत आवास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
गाँजा खेतीलाई कानुनी व्यवस्थामार्फत सञ्चालन गर्ने तयारी
नीति तथा कार्यक्रममा औषधीय तथा औद्योगिक प्रयोजनका लागि सुरक्षित र व्यावसायिक गाँजा खेतीलाई कानुनी व्यवस्थामार्फत सञ्चालन गर्ने तयारी गरिएको उल्लेख छ।कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य पनि सरकारले अघि सारेको छ।
युवालाई रोजगारी र स्टार्टअपमा जोड
‘सीप, उद्यम र रोजगार : समृद्ध प्रदेशको आधार’ कार्यक्रम सञ्चालन गरी युवालाई सहुलियतपूर्ण कर्जा, ब्याज अनुदान र स्टार्टअप इकोसिस्टममार्फत प्रोत्साहन गरिने नीति ल्याइएको छ।वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोड्ने तथा युवा सूचना व्यवस्थापन प्रणाली सञ्चालन गरिने भएको छ।
खेलकुद, पर्यटन र स्वास्थ्यमा विशेष प्राथमिकता
Gautam Buddha International Cricket Stadium, Godawari Stadium र गौरीटार खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ।‘घुमौँ बागमती, बुझौँ संस्कृति’ अभियान सञ्चालन गर्दै ६६ वटै निर्वाचन क्षेत्रमा एक प्रमुख पर्यटकीय गन्तव्य विकास गरिने नीति लिइएको छ।स्वास्थ्य क्षेत्रमा डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन र विशेषज्ञ सेवा विस्तार गरिनेछ भने जोखिमयुक्त गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
शिक्षा क्षेत्रमा आइटी र प्राविधिक शिक्षामा जोड
प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, स्टिम तथा आइटी विद्यालय कार्यक्रम, विद्यार्थी ह्याकाथन र आइटी स्किल फेलोसिप कार्यक्रम सञ्चालन गर्ने नीति पनि सार्वजनिक गरेको छ।उपसभामुख Apsara Chapagain का अनुसार नीति तथा कार्यक्रममाथि प्रदेशसभामा १८ जेठदेखि छलफल सुरु हुनेछ।
यो पनि पढ्नुहोस: चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ, राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब, नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी, क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply