नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने  डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी

९ जेठ, काठमाडौं । नेपालमा बाढी, पहिरो र नदी दुर्घटनाको जोखिम बढिरहेका बेला पुल्चोक क्याम्पसका चार जना नेपाली विद्यार्थीले पानीमुनि खोज तथा उद्धारमा सहयोग पुग्ने अत्याधुनिक मानवरहित डुङ्गा निर्माण गरेका छन्।मेकानिकल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत सिद्धान्त यादव, रुदिप श्रेष्ठ, हेमकला अवस्थी र रेगल घिमिरेले संयुक्त रूपमा ‘अटोनोमस बाथिमेट्री एन्ड अन्डरवाटर डिटेक्सन अनम्यान्ड वाटर सिस्टम’ विकास गरेका हुन्।

यो प्रविधिले पानीको गहिराइ नाप्ने, पानीमुनि रहेका वस्तु पहिचान गर्ने तथा सतहसम्बन्धी तथ्याङ्क स्वचालित रूपमा सङ्कलन गर्न सक्छ। विद्यार्थीहरूले यो परियोजना विपद् व्यवस्थापन तथा खोज उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरेका हुन्।गत वर्ष चितवनको सिमलतालमा पहिरोका कारण दुई बस त्रिशूली नदीमा खस्दा ६२ जना यात्रु बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि धेरै यात्रुको अवस्था अज्ञात रह्यो। त्यस्तो घटनामा आधुनिक खोज प्रविधिको आवश्यकता महसुस भएपछि यस्तो प्रणाली विकास गरिएको बताइएको छ।

पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख डा. सुदीप भट्टराईका अनुसार डुङ्गाको सफल परीक्षण ललितपुरको पिम्बहाल पोखरी, टौदह र कुलेखानी क्षेत्रमा गरिसकिएको छ। अहिले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा विभिन्न नदीमा थप परीक्षण भइरहेको छ।यो डुङ्गा पूर्ण रूपमा स्वचालित रूपमा सञ्चालन हुन्छ। कम्प्युटरमार्फत पहिल्यै रुट तथा डेटा सङ्कलन बिन्दु निर्धारण गरिएपछि डुङ्गा आफैं पानीमा सञ्चालन हुन्छ र काम पूरा गरेर सुरक्षित रूपमा फर्किन्छ।

नेपाली विद्यार्थीहरूले पानीमुनि वस्तु पत्ता लगाउने र गहिराइ नाप्ने मानवरहित डुङ्गा निर्माण गरेका छन्। यो प्रविधि विपद् व्यवस्थापन, खोज तथा उद्धारमा उपयोगी हुने बताइएको छ।

यसमा सोनार र लाइडार (LiDAR) प्रविधि प्रयोग गरिएको छ। सोनार प्रणालीले पानीमुनि ध्वनि तरङ्ग पठाएर गहिराइ तथा पिँधको संरचना पत्ता लगाउँछ भने लाइडारले पानीमाथिको भूगोलको डिजिटल नक्सा तयार गर्छ। यी दुवै प्रणालीबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी थ्रीडी नक्सा निर्माण गरिन्छ।विद्यार्थीहरूले अमेरिकी कम्पनी ‘ब्लु रोबोटिक्स’बाट प्राप्त सोनार प्रविधिलाई आफ्नै कन्ट्रोल सिस्टमसँग एकीकृत गरी प्रयोगमा ल्याएका हुन्।

डा. भट्टराईका अनुसार यो प्रविधि नदी दुर्घटनामा हराएका सवारीसाधन वा वस्तु खोज्न, जलविद्युत् आयोजनाको जलाशय मापन गर्न तथा जोखिमपूर्ण हिमतालको अवस्था अध्ययन गर्न उपयोगी हुनेछ। उनले भने, “मानिसलाई जोखिमपूर्ण क्षेत्रमा पठाउनुभन्दा यस्तो मानवरहित प्रणाली प्रयोग गर्दा उद्धार कार्य सुरक्षित, छिटो र कम खर्चिलो हुन्छ।” यो प्रविधि सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग तथा निजी जलविद्युत् आयोजनाहरूका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ।


यो पनि पढ्नुहोस:क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,  बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउकावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टिनेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्रीबेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारीप्रतिनिधि सभाको बैठक आज बस्दै,  प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको मागनिर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्