२५ साउन, काठमाडौं । उपत्यकाका छुट्टाछुट्टै स्थानबाट वैधानिक स्रोत खुलाउन नसकेको २४ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध वित्तीय कारोबार तथा गैरकानुनी रकम ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्याङ्जाको वालिङ नगरपालिका–६ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका ४१ वर्षीय ईश्वर थापा र काठमाडौंको कपन क्षेत्रमा बस्दै आएका ४२ वर्षीय सुदर्शन खड्का रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ लगायतका फरक-फरक स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले थापाको साथबाट १९ लाख ९४ हजार रुपैयाँ र खड्काको साथबाट ४ लाख ८ हजार रुपैयाँ गरी कुल २४ लाख २ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका दुवै जनाले बरामद रकमको वैधानिक आम्दानीको स्रोत र प्रामाणिक आधार पेस गर्न नसकेपछि रकमसहित उनीहरूलाई हिरासतमा राखिएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा हुण्डी, गैरकानुनी व्यापार तथा राजस्व छलीका घटना बढेको भन्दै प्रहरीले निगरानी तीव्र बनाएको छ। बरामद नगदसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको र आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग वा सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




















Leave a Reply