भेरी करिडोर अवरुद्ध: जाजरकोटको बहुला खोलामा बाढी आउँदा पसल बगे, यातायात सेवा ठप्प

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमानामा पर्ने बहुला खोला (बौलाह खोला) मा भीषण बाढी आउँदा भेरी करिडोर अवरुद्ध भएको छ। गएराति परेको अविरल वर्षाका कारण खोलामा अचानक आएको बाढीले सडक कटान गर्नुका साथै स्थानीय बैरीताल क्षेत्रका केही पसलहरूसमेत बगाएको छ। बाढीका कारण राष्ट्रिय प्राथमिकताप्राप्त भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बाढीले नलगाड नगरपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको बहुला खोला क्षेत्रको सडक पूर्ण रूपमा कटान गरेको छ। बाढीले नलगाड-१ तर्फ रहेका सडकका घुम्तीहरूमा ठूलो क्षति पुर्‍याएको र बैरीताल बजार क्षेत्रका व्यापारिक पसलहरू बगाएर ठूलो धनमालको क्षति पुर्‍याएको छ। स्थानीयवासी मोतीराम हमालका अनुसार अचानक आएको बाढीले सडक कटान गरेपछि आवतजावत जोखिमपूर्ण बनेको छ भने केही स्थानमा सडकको जग नै बगेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले अविरल वर्षा र बाढीका कारण भेरी करिडोरको जाजरकोट खण्ड पूर्ण रूपमा बन्द भएको पुष्टि गर्नुभयो। बाढीले बगाएका पसलहरू र पुर्‍याएको भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। बाढीको जोखिम अझै कायमै रहेकाले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र उक्त सडक खण्डमा यात्रा नगर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।

भेरी करिडोर अवरुद्ध हुँदा कर्णाली प्रदेशका हिमाली जिल्लाहरूको यातायात सम्पर्क विच्छेद भएको छ। भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एक मात्र रणनीतिक सडक मार्ग हो। बहुला खोला क्षेत्रमा बर्खायाममा बारम्बार आउने बाढी र पहिरोका कारण यो सडक खण्ड प्रायः जोखिममा पर्दै आएको छ। सडक अवरुद्ध हुँदा जाजरकोटबाट डोल्पा जाने तथा डोल्पाबाट जाजरकोट र सुर्खेततर्फ आउने यात्रु तथा मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्, जसका कारण सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ।

सडक खुलाउनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सडक विभागसँग समन्वय भइरहेको भए पनि अविरल वर्षा र बाढीको बहाव कायमै रहेकाले लेदो पन्छाउने कार्यमा कठिनाइ भइरहेको छ। मौसममा सुधार आएपछि र बाढीको सतह घटेपछि डोजर तथा हेभी इक्युपमेन्ट प्रयोग गरी सडक सफा गर्ने र पहिरो हटाउने तयारी गरिएको छ। दुर्गम पहाडी भूभाग र कमजोर भूबनोटका कारण बर्खायाममा यस्ता समस्या दोहोरिने गरेकाले दीर्घकालीन रूपमा तटबन्ध र पक्की पुल निर्माण गर्न स्थानीयले जोडदार माग गरेका छन्।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्