२८ भदौ, काठमाडौं ।
काठमाडौँस्थित भेलोसिटी एरिनामा सम्पन्न प्रतिस्पर्धात्मक अन्तिम भिडन्तमा बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन–२ को उपाधि आफ्नो नाममा बनाएको छ। शनिबार आयोजित रोमाञ्चक फाइनल खेलमा पोखराले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै प्रतियोगिताको च्याम्पियन ट्रफी चुम्न सफल भएको हो।
कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित यस प्रतियोगिताको निर्णायक भिडन्तमा पोखरा वारियर्सले सुरुवाती ब्याटिङ गर्दै विपक्षीसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको बुटवल एम्पायरले उत्कृष्ट सुरुवात गरे पनि पोखराको कसिलो बलिङ र चुस्त फिल्डिङका सामु निर्धारित लक्ष्य भेट्टाउन सकेन र १७ रनले पराजित हुन पुग्यो।
प्रतियोगिताको समापन समारोह नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा क्यान उपाध्यक्ष सिंहले विजेता पोखरा वारियर्स र उपविजेता बुटवल एम्पायरका खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा इन्डोर क्रिकेटको प्रवर्द्धन र युवा प्रतिभाहरूको पहिचानका लागि यस्ता लिगहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
नेपालमा पछिल्लो समय इन्डोर क्रिकेटप्रतिको आकर्षण र लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ। सीमित स्थान र छोटो समयमा पनि उच्च प्रतिस्पर्धात्मक खेल सम्भव हुने भएकाले खेलाडीहरूका लागि यो आफ्नो क्षमता तिखार्ने उत्कृष्ट माध्यम बनेको छ। इन्डोर सुपर लिगको दोस्रो संस्करणको सफल आयोजनाले देशभरीका क्रिकेट प्रेमीहरूमा नयाँ उत्साह थपेको आयोजकको भनाइ छ।
च्याम्पियन बनेसँगै पोखरा वारियर्सका खेलाडी तथा समर्थकहरूले उत्सव मनाएका छन् भने उपविजेतामा सीमित बुटवल एम्पायरले पनि प्रतियोगिताभर अनुशासित र उच्च स्तरीय खेल प्रदर्शन गर्दै प्रशंसकहरूको मन जित्न सफल भएको छ। आयोजकले आगामी दिनहरूमा यस लिगलाई अझ व्यापक र व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com




















Leave a Reply