३ असोज, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा पारिएका र सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर मात्र गरिनुपर्नेमा जोड दिनुभएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान केवल शब्द र अक्षरहरूको निर्जीव सँगालो नभई राज्य र नागरिकबीचको जीवन्त सम्झौता भएको स्पष्ट पार्नुभयो।
सभापति लामिछानेले संविधान एक गतिशील र जीवन्त दस्तावेज भएकाले विगतका राजनीतिक अभ्यास र अनुभवका आधारमा यसको परिमार्जन तथा संशोधन हुनु स्वाभाविक भएको बताउनुभयो। संविधानमा नै उल्लिखत प्रक्रिया अनुसार यसको पुनरावलोकन गरी जनताको आवश्यकता र परिवर्तनशील समयअनुसार यसलाई अझ बढी व्यावहारिक र जनमुखी बनाउन सकिने उहाँको धारणा छ।
नेपालको वर्तमान राजनीतिक वृत्तमा संविधान संशोधनको बहस तीव्र बनिरहेका बेला रास्वपा सभापतिको यो टिप्पणी आएको हो। उहाँका अनुसार राजनीतिक दलहरूले आफ्ना सीमित दलीय स्वार्थका लागि नभई आम नागरिक, विशेष गरी स्रोत, साधन र शक्तिबाट वञ्चित पारिएका सर्वसाधारणको हकअधिकार सुनिश्चित गर्न संविधान सुधारको दिशामा अघि बढ्नुपर्छ।
शुभकामना सन्देशमा लामिछानेले संविधानले अंगीकार गरेका मौलिक हक र लोकतान्त्रिक अधिकारहरूलाई कागजमा मात्र सीमित नराखी व्यावहारिक रूपमा नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो। राज्यका हरेक संरचना र निकायमा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व र पहुँच वृद्धि नगरेसम्म संविधानको वास्तविक मर्म पूरा हुन नसक्ने उहाँको तर्क छ।
देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नका लागि संविधानको व्यावहारिक सुदृढीकरण अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो। राजनीतिक दलहरूले दलीय घेराभन्दा माथि उठेर मुलुक र जनताको हितलाई सर्वोपरि ठानी परिमार्जनको प्रक्रियामा सहभागी हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
संविधान दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै लामिछानेले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन र मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन समाजका सबै वर्ग, क्षेत्र र समुदायबीच आपसी एकता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com




















Leave a Reply