इनर्जी ड्रिङ्क्स उपभोगमा सावधानी अपनाउन खाद्य प्रविधि विभागको आग्रह, मापदण्डभित्रै क्याफिन रहेको दाबी

इनर्जी ड्रिङ्क्स उपभोगमा सावधानी अपनाउन खाद्य प्रविधि विभागको आग्रह, मापदण्डभित्रै क्याफिन रहेको दाबी

नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्क्स मानव स्वास्थ्यका लागि सुरक्षित सीमाभित्रै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। बजारमा बिक्री वितरण भइरहेका यस्ता पेय पदार्थमा क्याफिनको मात्रा तोकिएको वैज्ञानिक मापदण्डभित्रै रहेको स्पष्ट पार्दै विभागले उपभोग गर्दा भने आवश्यक सावधानी अपनाउन आम उपभोक्तालाई आग्रह गरेको छ। विभागका अनुसार स्वस्थ वयस्क व्यक्तिले सीमित मात्रामा यसको सेवन गर्न सक्ने भए तापनि जथाभावी र अनियन्त्रित रूपमा प्रयोग नगर्न सचेत गराइएको छ।

हाल नेपालमा नेपाल सरकारका सम्बन्धित निकायबाट अनुमति लिएर १७ वटा उद्योगहरूले इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। विभागले गरेको प्रयोगशाला विश्लेषण प्रतिवेदन र लेबल विवरण अनुसार उत्पादित पेय पदार्थमा प्रयोग गरिएको क्याफिनको मात्रा प्रति क्यान मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्रै छ। युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनको वैज्ञानिक प्रतिवेदन अनुसार एक स्वस्थ वयस्कका लागि दैनिक ४०० मिलिग्रामसम्म क्याफिन सुरक्षित मानिन्छ। नेपालमा उत्पादित क्यानहरूमा पाइने क्याफिनको मात्रा यो दैनिक सीमाको २५ प्रतिशत अर्थात् करिब १०० मिलिग्राम मात्र रहेको विभागले स्पष्ट पारेको छ।

यद्यपि, वैज्ञानिक दृष्टिले क्याफिन एक उत्तेजक पदार्थ भएकाले इनर्जी ड्रिङ्क्स सबै वर्गका मानिसहरूका लागि उपयुक्त नहुने विभागले जनाएको छ। खासगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति अत्यधिक संवेदनशील व्यक्तिहरूलाई यस्ता पेय पदार्थ सेवन नगर्न कडा आग्रह गरिएको छ। यसै गरी, स्वस्थ वयस्क उपभोक्ताहरूलाई पनि २४ घण्टाभित्र दुई क्यानभन्दा बढी सेवन नगर्न र अन्य पेय पदार्थ वा मदिरासँग मिसाएर प्रयोग नगर्न ध्यानाकर्षण गराइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्स लाई पानी, प्राकृतिक फलफूलको रस, दूध वा मोही जस्ता पोषणयुक्त पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न उपभोक्तालाई सुझाव दिएको छ। बजारमा पाइने इनर्जी ड्रिङ्क्सले शरीरमा तत्कालीन ऊर्जा दिए जस्तो महसुस गराए पनि यसले प्राकृतिक पेय पदार्थको पौष्टिक आवश्यकता पूरा गर्न सक्दैन। त्यसैले दैनिक जीवनमा स्वस्थ रहन प्राकृतिक र पौष्टिक पेय पदार्थकै उपभोगलाई प्राथमिकता दिनुपर्नेमा विभागको जोड रहेको छ।

यसैबीच, विभागले इनर्जी ड्रिङ्क्स उत्पादन गर्ने उद्योगी तथा विक्रेताहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न निर्देशन दिएको छ। उत्पादनको लेबलमा उपभोक्ताले सजिलै बुझ्न सक्ने गरी चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी विवरण स्पष्ट रूपमा छाप्न भनिएको छ। ऐन विपरीत भ्रामक प्रचारप्रसार गर्ने वा मापदण्ड पालना नगर्ने व्यवसायीलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। साथै, सञ्चारमाध्यमहरूलाई पनि कुनै भ्रम वा त्रास सिर्जना नहुने गरी वैज्ञानिक तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्