१६ चैत काठमाडौं | लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, शर्मामाथि एक नाबालिकालाई घरमा राखेर लामो समयदेखि बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त घटनासम्बन्धी फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।घटना त्यसबेला सार्वजनिक भएको थियो, जब काठमाडौं महानगरपालिकाका प्रशिक्षार्थी विद्यार्थीहरूले सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाको सर्वेक्षण गरिरहेका थिए। सो क्रममा एक बालिका घरमा काममा लगाइएको र श्रमशोषण भइरहेको तथ्य खुलेको थियो।
बालिकाले करिब ६ वर्षदेखि सांसद शर्माको घरमा काम गरिरहेको र आफूलाई कुटपिट समेत हुने गरेको बताएकी थिइन्। उनले घरमा सरसफाइ, खाना पकाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको र परिवारसँग भेट्न समेत नपाएको गुनासो गरेकी थिइन्।घटनापछि काठमाडौं महानगरपालिकाको टोली, नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारेका थिए। बालिकाको अवस्था कमजोर देखिएपछि तत्काल उद्धार गरी संरक्षण गृहमा राखिएको थियो। यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै सांसद शर्मालाई पक्राउ गरेको हो।

