१७ चैत, धनकुटा । एउटै घर दुई जिल्लामा पर्ने अनौठो अवस्थाका कारण धनकुटा र पाँचथर सीमावर्ती क्षेत्रका स्थानीयवासी वर्षौंदेखि सास्ती भोगिरहेका छन्। धनकुटाको चौविसे गाउँपालिका–१ स्थित छनम्बर बुधबारे बजारमा रहेका धेरै घरधुरीको अवस्था यस्तै छ, जहाँ घरको एक भाग पाँचथरतर्फ पर्छ भने अर्को भाग धनकुटातर्फ। यस कारण एउटै घर दुई जिल्लामा पर्दा घरजग्गासम्बन्धी सबै कामका लागि दुई जिल्लामा धाउनुपर्ने बाध्यता छ। स्थानीय छविलाल गुरुङका अनुसार एउटै घर भए पनि तिरो तिर्न धनकुटा र पाँचथर दुवै जिल्लामा जानुपर्छ। “वर्षौंदेखि यस्तो समस्या भोगिरहेका छौँ,” उनले भने।
यस्तै समस्या विष्णुकुमार श्रेष्ठ लगायत अन्य स्थानीयले पनि झेलिरहेका छन्। घर, आँगन र करेसाबारी नै फरक जिल्लामा पर्दा नामसारी, जग्गा किनबेच, नापी तथा मालपोतका काम अत्यन्त झन्झटिलो र खर्चिलो बनेका छन्। स्थानीय फिवराज थेगिनका अनुसार कतिपय घरमा भान्सा एउटा जिल्लामा र सुत्ने कोठा अर्को जिल्लामा पर्ने अवस्था समेत छ। “एउटै कामका लागि दुई ठाउँ धाउनुपर्दा समय र पैसा दुवै खर्च हुन्छ,” उनले बताए।
इतिहास हेर्दा राज्य पुनःसंरचना अघि यो क्षेत्र साविक धनकुटाको बुधबारे र पाँचथरको दुर्दिम्बा गाविसमा पर्थ्यो। प्रशासनिक समायोजनपछि बजार दुई जिल्लामा विभाजित हुँदा अहिलेको समस्या उत्पन्न भएको हो। एउटै घर दुई जिल्लामा पर्ने अवस्थाले विकास निर्माणमा समेत असर पारेको छ। स्थानीयका अनुसार एउटा पालिकाले अर्को पालिकालाई जिम्मा लगाएर काम पन्छाउने प्रवृत्तिका कारण सडक, खानेपानी र ढल जस्ता पूर्वाधारमा ढिलाइ भएको छ। स्थानीयवासीले सिमाना पुनर्निर्धारण वा वडास्तरमै एकीकरण गर्न माग गर्दै आएका छन्। उनीहरूका अनुसार प्रशासनिक रूपमा नजिक पर्ने भएकाले सम्पूर्ण क्षेत्रलाई धनकुटामै समेट्नुपर्ने आवश्यकता छ। हाल करिब २२ घरधुरी यस समस्याबाट प्रभावित छन्। लामो समयदेखि समाधानको अपेक्षा गरे पनि समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयले छिटो पहल गर्न सरकारसँग माग गरेका छन्।
news source : https://www.onlinekhabar.com/2026/03/1901767/one-house-in-two-districts-the-pain-of-paying-the-rent

