१७ चैत, काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल रिहा भएका छन्। उनीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानका लागि आवश्यक सबै कागजात बुझिसकेपछि उनलाई रिहा गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भने, “उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। खोजेको बखतमा उपस्थित हुने सर्तमा जिम्मा जमानीमा छाडेका छौं।” प्रहरीका अनुसार रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो। आवश्यक परे पुनः अनुसन्धानका लागि उपस्थित गराइने जनाइएको छ।

