मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ, विमानस्थल निरीक्षणपछि रातभर मन्त्रालयमै

२० चैत काठमाडौं । गृहमन्त्री सुधन गुरूङ बिहीबार राति मन्त्रालयकै सोफामा सुतेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अबेरसम्म निरीक्षण गरेर फर्किएपछि उनी मन्त्रालयमै बसेका हुन्। गृहमन्त्री गुरूङले कार्यालयको सोफामा सिरक ओढेर सुतेको तस्बिर सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरेका छन्। तस्बिरसँगै उनले लेखेका छन्, “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।”

उनको सचिवालयले पनि गृहमन्त्री सुधन गुरूङ मन्त्रालयमै बसेर काम गर्दै सोफामै आराम गरेको पुष्टि गरेको छ। पछिल्लो समय विमानस्थलमा सर्वसाधारणले भोग्नुपरेको समस्या र सास्तीबारे गुनासो बढेपछि गृहमन्त्री गुरूङ बिहीबार साँझ आफ्नै टोलीसहित स्थलगत अनुगमनमा पुगेका थिए। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको दुःख नपर्ने गरी सेवा दिन सम्बन्धित कर्मचारीलाई कडा निर्देशन दिएका थिए। विदेशबाट फर्किएका नागरिकले विमानस्थलमै झन्झट झेल्नुपरेको अवस्थालाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत सामानमा अनावश्यक जाँच गरेर यात्रुलाई हैरानी नदिन पनि उनले स्पष्ट निर्देशन दिएका छन्। यस्ता गुनासो दोहोरिन नदिन सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको सचिवालयले जनाएको छ। यसअघि अन्तरिम सरकारका समयमा Mahabir Pun ले पनि मन्त्रालयमै बसेर काम गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।


यो पनि पढ्नुहोस्