२० कात्तिक, काठमाडौं ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले वर्षौंदेखिको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा वडा नम्बर ९ मा आयोजित एक विशेष कार्यक्रमका बीच वडा नम्बर १, ७ र ९ का स्थानीयवासीलाई पुर्जा हस्तान्तरण गरिएको हो। कृष्णनगरमा लालपुर्जा वितरण भएसँगै लामो समयदेखि जग्गा भोगचलन गर्दै आएका सर्वसाधारणको कानुनी स्वामित्व सुरक्षित भएको छ।
नगरपालिकाका अनुसार वडा नम्बर १ का ७३, वडा नम्बर ७ का ४९ र वडा नम्बर ९ का १३९ परिवार गरी कुल २६१ जना जग्गाधनीलाई आधिकारिक लालपुर्जा वितरण गरिएको छ। वर्षौंदेखि घरजग्गा भोगचलन गर्दै आए पनि कानुनी रूपमा आफ्नै नाममा पुर्जा नहुँदा स्थानीयवासीले बैंकिङ कारोबार, जग्गाको खरिदबिक्री तथा अन्य वित्तीय र कानुनी प्रक्रियामा विभिन्न समस्या झेल्दै आएका थिए।
लामो समयपछि हातमा रातो पुर्जा पाएपछि स्थानीयवासी अत्यन्तै खुसी भएका छन्। पुर्जा प्राप्त गरेकी ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा आएर आफ्नो जग्गाको आधिकारिक प्रमाण पाउँदा निकै राहत मिलेको बताइन्। त्यसैगरी वडा नम्बर ९ का छेदी अहिरले आफ्ना पाँच पुस्तादेखि भोगचलन हुँदै आएको भूमिको पुर्जा बल्ल प्राप्त भएको उल्लेख गर्दै परिवारमा खुसी छाएको प्रतिक्रिया दिए।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकताको विषय रहेको बताए। लालपुर्जा प्राप्तिले सर्वसाधारणको सम्पत्तिमाथिको हक सुरक्षित हुनुका साथै आर्थिक र सामाजिक गतिविधि सञ्चालन गर्न सहज हुने उनको भनाइ थियो। नगर प्रमुख शाहले पालिकाभित्र रहेका बाँकी गाउँब्लक जग्गाधनीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइने जानकारी दिँदै कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवा क्षेत्रका बहाल बिटौरी जग्गाको स्वामित्वसम्बन्धी समस्या पनि छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले विसं २०७० मा नापजाँच गरिएको गाउँब्लक जग्गाको प्रक्रिया पूरा गरी अहिले प्रमाणपुर्जा वितरण गरिएको स्पष्ट पारे। उनले लालपुर्जामा उल्लेखित जग्गाधनीको नाम, कित्ता नम्बर, र क्षेत्रफल लगायतका विवरण ध्यानपूर्वक जाँच्न सर्वसाधारणलाई आग्रह गर्दै कुनै त्रुटि भेटिएमा नापी कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने जानकारी दिए।
उक्त लालपुर्जा वितरण समारोहमा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नम्बर ९ का वडाध्यक्ष शतिस हरिजनका साथै नापी टोलीका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
थप उपयोगी लिङ्कहरू
Tourism & Management · Citizen Responsibility · Skill Services · Ramesh Poudel
यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

























Leave a Reply