११ जेठ, काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको सचिवालय बैठकले अन्ततः निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच बनेको उक्त कार्यदलले अब पार्टीको नेतृत्वसहित समग्र संगठनात्मक अवस्थाबारे अध्ययन गर्नेछ ।आइतबार झण्डै ९ घण्टा चलेको बैठक राति सम्पन्न भएको थियो । बैठकपछि उपमहासचिव लेखराज भट्टले निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन, केन्द्रीय कमिटी बैठक आह्वान तथा संगठनात्मक जिम्मेवारी हेरफेरलगायत निर्णय भएको जानकारी दिए ।
बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा सचिवालय र त्यसपछि केन्द्रीय कमिटीमा थप निर्णय हुने बताइएको छ ।बैठकका क्रममा अधिकांश पदाधिकारीहरूले पार्टी अहिलेको अवस्थामा अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए । स्रोतका अनुसार, अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको विषयमा छलफल नगर्न आग्रह गरे पनि त्यो प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।
नेकपा एमाले सचिवालय बैठकले केपी शर्मा ओलीको असहमतिबीच निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ। नेतृत्व परिवर्तनबारे औपचारिक बहस सुरु भएको छ।
ओलीले मूल नेतृत्वलाई विवादको विषय नबनाउन आग्रह गर्दै कार्यदलले अन्य संगठनात्मक समस्या मात्रै अध्ययन गर्नुपर्ने अडान राखेका थिए । तर सचिवालयका अधिकांश सदस्यहरूले नेतृत्वसहित सबै पक्षको समीक्षा हुनुपर्ने धारणा राखेपछि ओली पछि हट्न बाध्य भएका थिए ।
बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टी पुनर्गठन आवश्यक रहेको बताएका थिए । सचिव खगराज अधिकारीले एमालेको वर्तमान अवस्थालाई लिएर नेतृत्वमाथि नै प्रश्न उठाएका थिए ।यद्यपि सचिव महेश बस्नेतले भने अध्यक्ष ओलीकै पक्षमा खुलेर समर्थन जनाएका थिए । उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्षलाई हटाउने वा राजीनामा गराउने चर्चा भ्रामक भएको दाबी गरे ।
सचिवालय बैठकले पार्टी कार्यालय निर्माणसम्बन्धी मीनबहादुर गुरुङको प्रस्ताव फिर्ता गर्ने निर्णय पनि गरेको छ । साथै नेताहरूको कार्यविभाजन संशोधन गर्ने र असार दोस्रो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरिएको छ ।एमालेभित्र नेतृत्व परिवर्तनबारे बहस तीव्र भइरहेका बेला बनेको यो कार्यदललाई पार्टीभित्रको शक्ति सन्तुलन र भावी रणनीतिको संकेतका रूपमा हेरिएको छ ।
यो पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब, नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी, क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply