जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चार जगत् आन्दोलित बनेको छ। समाचार तथा सञ्चार सामग्रीका विषयमा प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार मिचेर प्रहरीले सिधै पत्रकार पक्राउ गरेको भन्दै पत्रकारिता क्षेत्रबाट कडा आपत्ति र विरोध जनाइएको छ।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट प्रहरी टोलीले पक्राउ गरेको थियो। पक्राउ पश्चात् उनलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। घटना सार्वजनिक हुनासाथ नेपाल पत्रकार महासंघ तथा विभिन्न सञ्चार संगठनका पदाधिकारीहरू विरोधमा उत्रिएका छन्। महासंघका नेतृत्वकर्ता तथा प्रेस चौतारीलगायतका संघ-संस्थाका प्रतिनिधिहरूले मध्यरातिदेखि नै प्रहरी परिसर अगाडि भेला भएर श्रेष्ठको अविलम्ब रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
श्रेष्ठको पक्राउ प्रकरणले पत्रकारिताको आचारसंहिता र कानुनी क्षेत्राधिकारको विषयमा नयाँ बहस समेत छेडेको छ। एक पक्षले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीलाई लिएर चित्त नबुझेमा वा आचारसंहिता उल्लंघन भएमा त्यसको छानबिन र कारबाही गर्ने मुख्य जिम्मेवारी प्रेस काउन्सिलको भएको तर्क गरेका छन्। काउन्सिलको क्षेत्राधिकारलाई बाइपास गरेर प्रहरीले सिधै फौजदारी प्रकृतिको कारबाही अघि बढाउनु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको पत्रकार संगठनहरूको ठहर छ।
अर्कातर्फ, सञ्चारमाध्यम र पत्रकारहरूले पनि प्रचलित कानुन र पत्रकारिताको न्यूनतम मूल्य–मान्यताको पूर्ण पालना गर्नुपर्ने आवाज उठिरहेको छ। पत्रकारिताको आवरणमा व्यक्तिगत आक्षेप तथा गैरकानुनी सामग्री सम्प्रेषण गर्न नपाइने तर्क समेत केही वृत्तबाट आएको छ। यद्यपि, समाचार लेखेकै आधारमा प्रहरीले सिधै धरपकड गर्ने शैलीले लोकतान्त्रिक व्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पार्ने भन्दै पत्रकारहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।




















Leave a Reply