२८ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको कसुरमा पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको छ। बुधबार साँझ ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका श्रेष्ठलाई प्रहरीले हतकडीसहित सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालत पुर्याएको हो।
प्रहरीले श्रेष्ठको निवासका साथै जनआस्थाको कार्यालयमा समेत पुगेर खानतलासी गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले कार्यालय र निवासबाट ल्यापटप, कम्प्युटर लगायतका डिजिटल उपकरणहरू नियन्त्रणमा लिएको जनाएको छ। हाल श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।
श्रेष्ठको गिरफ्तारीपछि पत्रकार सम्बद्ध विभिन्न संघ-संगठनहरू आन्दोलित बनेका छन्। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसहितका पत्रकारहरू मध्यराति नै काठमाडौँ प्रहरी परिसर परिसरमा पुगेर पक्राउको कडा विरोध गरेका छन्। पत्रकार अधिकारकर्मीहरूले राज्य प्रशासनले सञ्चारकर्मीमाथि धरपकड बढाएको भन्दै आपत्ति जनाएका छन्।
यो घटनासँगै सञ्चार जगत्मा नयाँ बहस सिर्जना भएको छ। सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित विषयवस्तुमाथि कुनै असहमति वा सिकायत भए प्रेस काउन्सिल नेपालमार्फत नियमन र कारबाही हुनुपर्नेमा सिधै प्रहरी परिचालन गरिनु गलत भएको कतिपयको तर्क छ। अर्कातिर, पत्रकारिता क्षेत्रले पनि आचारसंहिता र नागरिकको व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकारको सम्मान गर्नुपर्ने विषय उठाइएको छ।



















Leave a Reply