२७ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउन संसदीय दलको कार्यालय हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। पार्टीको शीर्ष तहको निर्देशन तथा आन्तरिक सहमति बमोजिम थपलियाविरुद्ध बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बागमती प्रदेश एमालेभित्र नयाँ नेतृत्व चयनको प्रक्रिया औचारिक रूपमा सुरु भएको हो।
बागमती प्रदेश सभा सदस्य किरण थापाका अनुसार संसदीय दलमा देखिएको असमझदारी र आन्तरिक शक्ति सन्तुलनलाई मिलाउन पार्टीकै निर्णय अनुसार यो कदम चालिएको हो। थपलियालाई दलको नेताबाट हटाएर नयाँ नेता चयन गर्न बहुमत सांसदहरूले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव बुझाएका हुन्। यस घटनाले बागमती प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।
संसदीय दलको नेतृत्व परिवर्तनका लागि केही समय अघिदेखि नै एमाले सांसदहरूबीच आन्तरिक छलफल तथा हस्ताक्षर संकलन अभियान चलाइएको थियो। स्रोतका अनुसार थपलियाको विकल्पमा प्रदेश सांसद किरण थापामगरलाई संसदीय दलको नयाँ नेता बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको प्रभावकारिता र संसदीय दलभित्रको कार्यशैलीलाई लिएर सांसदहरू असन्तुष्ट रहँदै आएका थिए।
संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब नियमानुसार दलको बैठक आह्वान गरी उक्त प्रस्तावमाथि निर्णय लिइनेछ। बागमती प्रदेश सभाको ठूलो दलमध्येको एक एमालेभित्रको यो आन्तरिक हेरफेरले प्रदेशको समग्र राजनीतिक वातावरण र सत्ता समीकरणमा समेत दूरगामी असर पार्ने विश्लेषण गरिएको छ।




















Leave a Reply