नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदमा जागिर लगाइदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले ४६ वर्षीय हरिबहादुर रसाईलीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका वडा नं. १ स्थायी घर भई हाल काठमाडौँको नयाँबजार क्षेत्रमा बस्दै आएका हरिबहादुर रसाईली रहेका छन्। प्रहरीका अनुसार उनले नेपाल प्रहरीको असई पदको परीक्षामा नाम निकालिदिने र भर्ना गराइदिने भन्दै पीडितबाट रकम असुल गरेका थिए। रकम लिएपछि उनी पीडितको सम्पर्कबाट टाढा रहँदै आएका थिए।
पीडितले आफ्नो १० लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी तीव्र पारेको थियो। सोही क्रममा प्राप्त गोप्य सूचनाका आधारमा खटिएको टोलीले रसाईलीलाई सोमबार दिउँसो काठमाडौँको बबरमहल क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका रसाईलीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनले अन्य व्यक्तिहरूलाई पनि यसै गरी प्रलोभनमा पारेर ठगी गरेको हुन सक्ने आशङ्कामा प्रहरीले थप छानबिन गरिरहेको छ।
सुरक्षा निकाय तथा अन्य सरकारी सेवामा भर्ना प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा आधारित हुन्छ। तसर्थ, कसैले पनि भर्ना गराइदिने आश्वासन दिँदै रकम मागेमा त्यस्ता प्रलोभनमा नपर्न र तत्काल प्रहरीलाई खबर गर्न अपराध अनुसन्धान कार्यालयले सर्वसाधारणलाई सचेत गराएको छ।



















Leave a Reply