चैत १२ गते | काठमाडौं — सांसदको शपथ ग्रहण गरेलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सर्वोच्च अदालत पुगेका छन्।
शाहले आफूविरुद्ध दायर अदालत अवहेलना सम्बन्धी मुद्दामा तारेख लिएका हुन्। सो मुद्दा पछिल्ला तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
यो विवाद उच्च अदालत पाटनले सिनेमा हलमा हिन्दी चलचित्र नरोकिने अन्तरिम आदेश दिएपछि सुरु भएको थियो। त्यसपछि मेयर रहँदा शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीका आधारमा अधिवक्ता वर्षा झाले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेकी थिइन्।
उक्त मुद्दाको सुनुवाइका लागि अब १४ जेठमा अर्को तारेख तोकिएको छ।

