आज प्रधानमन्त्रीको शपथ लिँदै बालेन शाह, सिंहदरबारमा पद बहाली पनि आजै

१३ चैत, काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज औपचारिक रूपमा नेपालको प्रधानमन्त्री पदमा शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने कार्यक्रममा उनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहणको समय दिउँसो १२:३४ बजे तोकिएको छ।

शपथपछि बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।

शपथ समारोहलाई विशेष बनाउने तयारी पनि गरिएको छ। कार्यक्रममा ७ वटा शंख बजाइने, १०८ जना बटुकबाट स्वस्ती वाचन गरिने तथा १६ जना बौद्ध भिक्षुहरूबाट अष्टमंगल पाठ गरिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि आजै शपथ हुने जनाइएको छ। शपथअघि नै उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ।

राष्ट्रपति कार्यालयका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकार गठन हुन लागेको हो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।

बालेनलाई बिहीबार संसदीय दलको नेता चयन गरिएको थियो। झापा क्षेत्र नम्बर ५ बाट उनले ६८ हजार ३४८ मतसहित जित हासिल गरेका थिए।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।


यो पनि पढ्नुहोस्