इरानबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको घोषणा, दुई–तीन हप्ताभित्र युद्ध अन्त्य हुने दाबी

१८ चैत, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण तथा सैन्य कारबाहीको मुख्य उद्देश्य पूरा भएको दाबी गरे। उनका अनुसार गत महिना इजरायलसँगको समन्वयमा सुरु गरिएको अभियानले इरानको आणविक क्षमता कमजोर पार्ने लक्ष्य हासिल गरिसकेको छ।

ट्रम्पले हाल अमेरिकी सेनाले “अन्तिम चरणको काम” सम्पन्न गरिरहेको उल्लेख गर्दै अब इरानको आकाशमा अमेरिकाको नियन्त्रण रहेको दाबी गरे। उनले इरानी सैन्य संरचना कमजोर भइसकेको र त्यहाँको नेतृत्वमा परिवर्तन आएको पनि बताए। उनका अनुसार इरान वार्ताका लागि इच्छुक देखिएको छ, तर औपचारिक सम्झौता भए वा नभए पनि अमेरिकाले निर्धारित समयमै सेना फिर्ता गर्नेछ। उनले इरानले भविष्यमा आणविक हतियार विकास गर्न नसक्ने सुनिश्चित भएपछि मात्रै पूर्ण रूपमा फिर्ता हुने स्पष्ट पारे।

युद्धका कारण बढेको इन्धन मूल्यबारे बोल्दै ट्रम्पले सैन्य अभियान अन्त्यसँगै तेलको मूल्य घट्ने अपेक्षा व्यक्त गरे। उनले अमेरिकाले यो युद्धमा “पूर्ण सफलता” हासिल गरेको दाबी गर्दै अब त्यहाँ बसिरहनुपर्ने आवश्यकता नरहेको बताए। तर इरानले भने यसअघि यस्ता दाबीहरूको खण्डन गर्दै आएको छ।


यो पनि पढ्नुहोस्