१८ चैत क्रिमिया । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
विमान नियमित उडानमा रहेको बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो। त्यसपछि खोज तथा उद्धार टोली परिचालन गरिएको थियो, तर दुर्घटनास्थलमै सबैको ज्यान गएको पुष्टि भएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार दुर्घटनाको मुख्य कारण प्राविधिक खराबी हुनसक्ने बताइएको छ। रक्षा मन्त्रालयले विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ। स्थानीय स्रोतहरूका अनुसार विमान चट्टानी क्षेत्रमा खसेको थियो, जसका कारण क्षति अझ गम्भीर बनेको बताइएको छ। उल्लेखनीय छ कि क्रिमियन प्रायद्वीप सन् क्रिमिया अधिग्रहण २०१४ पछि रुसको नियन्त्रणमा रहेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले विवादित मान्दै आएको छ।

