१९ चैत, काठमाडौं । इन्डोनेसिया मा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसले सुनामीको जोखिमसमेत बढाएको छ। स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको भूकम्पको केन्द्रविन्दु मोलुका सागरमा रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्र टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा रहेको थियो। सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको भूकम्पलाई पछि संशोधन गरी ७.४ कायम गरिएको हो। भूकम्पपछि हवाई सुनामी चेतावनी केन्द्र ले इन्डोनेसिया, फिलिपिन्स र मलेसिया का तटीय क्षेत्रहरूमा सुनामीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
एक जनाको मृत्यु, क्षतिको विवरण आउँदै
स्थानीय उद्धार टोलीका अनुसार भवनको भग्नावशेषमा पुरिएर एक ७० वर्षीया महिलाको मृत्यु भएको छ। उनी मिनाहासा क्षेत्रकी बासिन्दा थिइन्। मनाडो शहरमा एक भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको भिडियो सार्वजनिक भएको छ। घरभित्रका सामग्री बाहिर फ्याँकिएका र संरचनाहरू बाङ्गिएको देखिएको छ।
७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प ,थप पराकम्पको जोखिम
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुई पराकम्पहरू गइसकेका छन्। इन्डोनेसिया राष्ट्रिय भूगर्भ एजेन्सी ले अझै थप पराकम्प आउन सक्ने चेतावनी दिएको छ। सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरो जोखिम भएका स्थानबाट टाढा रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ।
जापानमा पनि सतर्कता
जापान मौसम विज्ञान एजेन्सी ले समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ। ओकिनावा लगायतका क्षेत्रमा असर देखिन सक्ने बताइएको छ, तर ठूलो सुनामीको जोखिम भने कम रहेको अनुमान गरिएको छ।
‘रिङ अफ फायर’ क्षेत्रको जोखिम
इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छ। यसअघि सन् २०२२ मा जाभा मा गएको भूकम्पमा ६०० भन्दा बढीको ज्यान गएको थियो भने २०१८ मा सुलावेसीमा आएको भूकम्प र सुनामीले ४,३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

